निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुनु पर्छ : उपप्रधानमन्त्री (भिडियोसहित)

निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुनु पर्छ : उपप्रधानमन्त्री (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासनको आलोचना गरेका छन्। सिंहदरबार स्थित निजामती कर्मचारीका उच्च तहका अधिकारीहरूको कार्यक्रममा पोखरेलले निजामती कर्मचारी ‘झिँगे सोचबाट मुक्त हुन नसकेको’ भन्दै आलोचना गरेका हुन् । उनले कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेकोप्रति गुनासो गरेका छन्। 

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । सर्वोच्च अदालतले नेकपाको औपचारिकता ऋषिराम कट्टेललाई दिएसँगै माओवादी केन्द्र र नेकपा (एमाले)ले पुर्नजन्म पाए। तर, दुई पार्टीबीच द्वन्द्व दूरी बढ्दै जाँदा सरकारको समर्थनमा रहेको माओवादी केन्द्रले आफ्ना मन्त्रीहरू फिर्ता बोलाईरहेको छ। तथापि, सरकारको समर्थन फिर्ता गर्न भने माओवादीले सकेको छैन। 

एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन् २०२०–२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो। यस्तै सत्तारुढ दलले द्वन्द्वकालीन अपराधमा संलग्न भएकाहरुलाई पूर्ण र स्वतन्त्र अनुसन्धानबिना शक्तिशाली पदहरुमा नियुक्ति गर्ने कार्य जारी राखेको पनि प्रतिवेदनमा उल्लेख छ ।

दुर्गम जिल्लाका सांसदहरुले घाम नलागेसम्म मोबाइलमा टावर नआउने भन्दै नेपाल टेलिकमको सेवाप्रति गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मंगलबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर’ सम्बन्धी अन्तर्क्रियामा विभिन्न दुर्गम जिल्लाका सांसदहरुले दूरसञ्चार सेवा राम्रो नभएको भन्दै गुनासो गरेका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कर्णाली र सूदुरपश्चिम प्रदेशमा भएको सञ्चार क्षेत्रको समस्याप्रति आफू गम्भिर भएको बताएका छन्। 

नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौँ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन्। 

Logo