‘नेपाल–खनाल’ पक्षका २१ सांसदले राजीनामा दिंदै, ओली सरकार ढल्ने (यस्तो छ अंकगणित)

‘नेपाल–खनाल’ पक्षका २१ सांसदले राजीनामा दिंदै, ओली सरकार ढल्ने (यस्तो छ अंकगणित)


नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पक्षले गम्भीर कदम चाल्ने तयारी गरेको छ।

‘नेपाल–खनाल’ निकट एक सांसदका अनुसार चाल्न लागिएको कदम सामूहिक राजीनामा हो।राजीनामा दिने भनिएका सांसदहरूको सङ्ख्या २१ छ।

‘२१ जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने टुङ्गो लागेको छ, एकजना सांसदको राजीनामाबारे टुङ्गो लाग्न बाँकी छ’, ती सांसदले केन्द्रविन्दुसँग भने, ‘फ्लोर क्रस गरे ओलीले कारबाही गर्छन् नै, त्यसअघि नै सामूहिक राजीनामा दिने भन्ने भएको छ।’

‘नेपाल–खनाल’ पक्षले समानुपातिक सांसदहरूलाई भने राजीनामा दिन नलगाउने भएको छ।

राजीनामा दिन लगाए समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा रहेकाहरूलाई मनोनित गर्न सकिने प्रावधान भएकोले समानुपातिक सांसदहरूलाई राजीनामा दिन नलगाउने भएको ती सांसदले बताए।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन बोलाएकी छन्। अधिवेशन सुरु हुनुभन्दा ठीक पहिले सामूहिक राजीनामा दिने भन्ने आन्तरिक छलफलमा कुरा भएको ती सांसदले बताए।

‘राजीनामा हाम्रो पहिलो विकल्प हो, त्यही विकल्पअनुसार हामीले २६ गतेको अबेर वा २७ गते संसद् अधिवेशन अगाडि राजीनामा दिने कुरा भएको छ’, ती सांसदले भने, ‘उसै त हामीलाई यसअघि कारबाहीको लागि स्पष्टीकरण सोधिएको छ।’

‘नेपाल–खनाल’ पक्षका २१ जना सांसदले सामूहिक राजीनामा दिए ओलीले संसदमा बहुमत गुमाउने छन्। सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने स्थिति आउने छ। 

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले सहयोग गरेपनि ओली नेतृत्वको सत्ता ढल्ने छ।

यो कदमले विपक्षी ‘कांग्रेस–माओवादी–जसपाको संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा’ सहितको गठबन्धनलाई फाइदा पुग्ने देखिन्छ। 

हाल संसदमा ४ जना सांसद पदमुक्त भएका छन्। उनीहरू माओवादी केन्द्रका हुन्। कांग्रेस र जसपाका समान २–२ जना सांसद निलम्बनमा परेका छन्। 

त्यसो भएकोले संसदमा २६७ जना सांसद छन्। सरकार गठनका लागि बहुमत १३४ आवश्यक हुन्छ।

यदि ‘नेपाल–खनाल’ पक्षका २१ जना सांसदले राजीनामा दिए एमालेको १०० सांसद रहने छन्। जसपाको २० सांसदले ओलीलाई साथ दिए पनि अल्पमतमा पर्नेछन्। त्यति धेरै सांसदले ओलीलाई साथ दिने अवस्था जसपामा छैन र नेपाल मजदुर किसान पार्टीसँगै राप्रपाले साथ दिँदा पनि १२२ सांसद मात्रै हुनेछन्।

तर, संसदमा कांग्रेसको ६१ र माओवादी केन्द्रका छक्कबहादुर लामा प्रवेशपछि ५० जना सांसद छन्। जसपाको भट्टराई र यादव पक्षमा १२ जना सांसद र जनमोर्चाको एक सांसद गर्दा १२४ सांसद हुनेछन्।

यसरी विपक्षी गठबन्धनले १२४ सांसदसहित अल्पमतको सरकार गठन गर्ने सम्भावना देखिएको छ। 

Skip This
Logo