माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अल्पमतमा ओली सरकार (भिडियोसहित)

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अल्पमतमा ओली सरकार (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेसँगै माधव नेपाल, झलनाथ खनाल समूहका सांसदले पनि सामूहिक राजीनामाको तयारी गरेका छन्। 

मंगलबार नेपालमा कोरोना भाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । २४ घन्टाको रिपोर्ट अनुसार ७ हजार ६६० जना संक्रमित थपिएका छन्। 

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पनि निर्देश गरेको छ। यसैगरि, सरकारले निषेधाज्ञामा सञ्चारकर्मीलाइ पनि कडाइ गर्ने निर्णय गरेको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डरीले मंगलबार सातवटा अध्यादेश जारी गरेकी छिन्। यसअघि नै जारी भएका अध्यादेश संसद् चले पनि पेश हुन नसकेपछि पुनः मंगलबार जारी गरिएको हो। संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने भए पनि दलहरुको विरोधका कारण पेश नभएपछि तीन अध्यादेशलाई दोस्रोपटक जारी गरिएको हो। 

भन्सार विभागका अनुसार नेपालमा सबैजसो बालीको उत्पादनमा ह्रास आउँदा खाद्यान्न परनिर्भरताको ग्राफ उकालो लाग्दो देखिएको छ। २०५८ यता २० वर्षको तथ्यांकलाई आधार मान्दा २०७८ सम्ममा नेपालको कृषि उत्पादनमा झण्डै ३० प्रतिशतले कमी हुने विभागको अनुमान छ। 

Logo