ओलीले चलाउलान् नेपालपक्षीय सांसदमाथि कारबाहीको डण्डा?

ओलीले चलाउलान् नेपालपक्षीय सांसदमाथि कारबाहीको डण्डा?


प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपक्षीय सांसद्लाई सदनमा विश्वासको मत लिनु अगाडि कारबाही गर्ने विषय सार्वजनिक भएको छ।

कारबाही गर्ने भनिएका सांसद्को संख्या २७ हो । उनीहरूलाई अध्यक्ष ओलीले वैशाख ७ गते स्पष्टीकरण सोधेका थिए। त्यहाँ भनिएको थियो,–‘तपाईंलाई सांसद पदबाट किन नहटाउने?’

तिनै सांसदहरूलाई अध्यक्ष ओलीले हटाउनेबारे पनि पार्टीको संसदीय दलमा छलफल भएको ओली निकट एक सांसदले बताए। तर, निर्णय नभएको ती सांसदको भनाइ छ।

उनका अनुसार हटाउनु भन्दा पहिले भने प्रधानमन्त्री ओलीलाई पनि ती सांसद्हरूलाई ‘लिक’मा ल्याउन अधिकतम प्रत्यन्त गर्न सुझाइएको छ । उनले अन्तिम विकल्प चाहिँ हटाउने राखिएको बताए।

तर, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने कारबाहीको तयारी नभएको बताए।

संसदीय दलको ह्वीप उल्लङ्घन गरिए मात्रै कारबाही हुने उनको भनाइ छ । ‘कारबाहीको केही तयारी छैन। राजीनामा दिने भन्ने छैन। त्यो सम्भव छैन। कारबाही पनि यत्तिकैमा हुँदैन। उहाँहरूले ह्वीप उल्लङ्घन गर्नुभयो भने कारबाही हुने कुरा भइहाल्यो।’, उनले केन्द्रविन्दुसँग भने।

यस्तै माधवपक्षीय २७ सांसदले प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेपछि राजीनामा दिने भनिएको छ।

Logo