बालुवा गिट्टी बेचेर व्यापारघाटा कम गर्ने योजना मिर्गौला बेचेर लुतोको उपचार गरे जस्तैः कांग्रेस

बालुवा गिट्टी बेचेर व्यापारघाटा कम गर्ने योजना मिर्गौला बेचेर लुतोको उपचार गरे जस्तैः कांग्रेस


प्रदेश १ मा बजेट अधिवेशन चलिरहेको छ। केन्द्रले जेठ १५ र प्रदेशले असार १ गते बजेट ल्याउनैपर्ने संबैधानिक व्यवस्था अनुरुप ७ बटै प्रदेश सरकारले अधिवेशन आह्वान गरेका छन्।

यसपटकको बजेट अधिवेशनमा ७ बटै प्रदेशमा एउटा विषयले प्रमुख स्थान पाएको छ, त्यो हो केन्द्र सरकारले बजेटमार्फत खनिजजन्य ढुंगा, गिट्टी निर्यात गरि व्यापारघाटा न्युनिकरण गर्ने भन्ने विषय।

केन्द्र सरकारको पनि निकै आलोचना र बिरोध भएको यो मुद्दाले एमालेको सरकार भएको प्रदेश सरकारहरुमा पनि सोहि नजिर दोहोरिएको छ। प्रदेश १ को प्रमृख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रभुलाई भेटी चढाउन चुरे बेच्ने योजना ल्याएको’ आरोप लगाए।

बुधबारको प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले ‘प्रधानमन्त्रीले प्रभुलाई भेटी चढाउन यस्तो योजना ल्याएका हुन्, यसको हामी विरोध गर्दछौं, भनेका छन्।

त्यस्तै विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्राकृतिक स्रोत बेचेर व्यापारघाटा कम गर्ने योजना मिर्गौला बेचेर लुतोको उपचार गरेजस्तै भएको बताए।

व्यंग्यत्मक शैलीमा ‘मिर्गौला बेचेर लुतोको उपचार गर्न मिल्छ प्रधानमन्त्रीज्यू?,’ उनले भने।  

त्यस्तै प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् ।

‘जनताप्रति जिम्मेवार हुन सक्नु हुन्न भने, जनताको पेटमा चारो हाल्न सक्नु हुन्न भने मुख्यमन्त्रीज्यूले आफ्नै दलका अरु कसैलाई प्रस्ताव गर्नुहोस्, अलिक दिन फुर्सद हुनुहोस्, राजीनामा दिनुहोस्,’ उनले भने,‘ आफ्नै दलको अरु कसैलाई मुख्यमन्त्री बनाउनुहोस्, नभए दल सक्नु भो, एमाले सक्नु भो, प्रदेशसभालाई बनदान बनाउनु भयो, जनतालाई बेवकुप बनाउने काम नगर्नुहोस्, उनले भने।

Logo