नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्चले रोक्दा समस्या भयावह हुन्छ: अध्यक्ष ठाकुर

नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्चले रोक्दा समस्या भयावह हुन्छ: अध्यक्ष ठाकुर


जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् ।

नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्दमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानून नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए। 

उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए। नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए। उनले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। देशको समृद्धि विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्ने उनले बताए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए। सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्देश्य प्राप्त गर्न केन्द्रीत हुने उनले बताए।

उनले सरकारको लक्ष्य प्राप्तिका लागि निष्ठापूर्वक काम गर्ने बताए। उनले आफू सामुहिकरुपमा काम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।

Logo