डेढ लाख दिएर बलात्कारको घटना गुपचुप राख्दा–राख्दै बाहिरीयो

विराटनगर,
एक सुस्त मनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटनालाई पैसा दिएर मिलाउने प्रयास गरिएको छ । घटना मोरङको रंगेलीको हो । २४ दिन लामो समयसम्म यस घटनालाई गुपचुप राखेको थाहा पाएपछि प्रहरीले यो घटनालाई सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीले गाउँका अगुवा, छिमेकी, भद्रभलादमी, पीडित र पीडक पक्षबीच भएको छलफलका क्रममा बलात्कारबाट पीडित भएकी बालिकाका परिवारलाई एक लाख ५० हजार रुपैयाँ दिएर घटना बाहिर नल्याउने सहमति भएको बताउनुभयो ।

गत असार २० गतेको घटना भए पनि विभिन्न डर र धम्कीका कारण पीडित परिवार चुप बस्न बाध्य भएको प्रहरीले जनाएको छ । बालिकामाथि रंगेली नगरपालिका–९ का २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रीन्स अधिकारी र २३ वर्षीय सुनिल चौधरीले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनापछि गाउँमा छलफल बोलाइएको र पैसा लेनदेन गरेर घटना गुपचुप राख्ने भनेर कागज समेत गरिएको कार्कीको भनाइ छ । उहाँले पैसाको लेनदेन हुनु अघि नै थाहा पाएका कारण घटनालाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिनुभयो । घटनामा संलग्न मध्ये मगर र अधिकारी पक्राउ परेका छन् ।

चौधरी फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितलाई भने विराटनगरमा ल्याएर एउटा संस्थाको संरक्षणमा राखिएको छ । उक्त मिलापत्रमा तीन जना मिलेर जवरजस्ती करणी गरेकोमा पीडितको उपचार लगायत सामाजिक सुरक्षाका लागि एक लाख ५० हजार रुपैयाँ दिने सहमति भएको उल्लेख छ । मिलापत्रमा घटनामा संलग्न तीनै जनाले घटना स्वीकार गर्दै हस्ताक्षर पनि गरेका छन् । कार्कीले बलात्कारमा संलग्न विरुद्ध जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट