सैनिक अधिकारीसँग राष्ट्रपतिकाे भेटपछि माधव नेपालको शंकाः भोलि कतै अनिष्ट त हुने होइन ?

सैनिक अधिकारीसँग राष्ट्रपतिकाे भेटपछि माधव नेपालको शंकाः भोलि कतै अनिष्ट त हुने होइन ?


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताएका छन् । 

बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताएका हुन् । उनले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताए । अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरुको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताए । 

उनले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरुको क्रियाशिलताको सम्बन्धमा पनि आफूहरुको नजर पुगिरहेको बताए । ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले पूर्वसैनिक अधिकारीरुलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन, डिनर दिने कामहरु भयो यसले शंका जन्माएको छ । के गर्न खोजेका छन् राष्ट्रपतिले  ? भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्नहरु पनि खडा भएको छ ।’ उनले भने, ‘आज बिहान बालुवाटारमा त्यसबारेमा हाम्रो बीचमा छलफल पनि भएको छ । हामीले राष्ट्रिय राजनीतिका यी सबै पक्षहरुको बारेमा निगरानी गरिरहेका छौँ । प्रतिगामी शक्तिहरु, दरबारवादी शक्तिहरु, राजतन्त्रवादी शक्तिहरु, विदेशीहरुको दलाली गर्ने शक्तिहरु नेपालको राजनीतिमा कत्तिको क्रियाशिल छन्, यी सबै कुरामा पनि हाम्रो नजर छ ।’

Logo