इलेक्ट्रिक सवारी किन्न थोरै ब्याजदरमा अटो लोन

इलेक्ट्रिक सवारी किन्न थोरै ब्याजदरमा अटो लोन


बैंकहरुले इलेक्ट्रिक सवारी किन्न थोरै ब्याजदरमा अटो लोन दिन थालेका छन् । राष्ट्रिय वाणिज्य बैंकले गाडी कर्जा भनेर बेस रेट भन्दा बढीमा ५ प्रतिशत सम्मको ब्याजदर लिने नीति लिएको छ । तर विद्युतीय सवारी साधन कर्जामा भने ३ देखि ४ प्रतिशत सम्म मात्र ब्याजदर लिने बताएको छ । बैंकको बेस रेट ७.८६ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले तोकेको नीति अनुसार इलेक्ट्रिक सवारी साधनका लागि बैंकहरुले सवारी साधनको मूल्यको ८० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउने गरेका छन् । 

त्यसो भयो भने ग्राहकले शुरुमा डाउन पेमेन्टको रुपमा २० प्रतिशत मात्र रकम तिरेर बाँकी रकम किस्ताको रुपमा तिर्ने गरी सवारी साधन प्रयोग गर्न सक्छन् ।

कम्बसन इन्जिनबाट चल्ने सवारी साधनमा भन्दा इलेक्ट्रिक सवारी साधनका लागि बैंकहरुले दिने कर्जाको दर पनि सस्तो गरेका छन् । 

एनएमबी बैंक कुनै समयमा इलेक्ट्रिक गाडीका लागि कर्जा दिने प्रक्रियामा निकै नै आक्रामक तरिकाले लागेको थियो । हाल बैंकले बेस रेटमा ६ प्रतिशत सम्म जोडेर कर्जा दिने बताएको छ । बैंकले टाटा नेक्सन ईभी किन्न चाहनेहरुका लागि शुरुमा ८ लाख रुपैयाँ मात्र बुझाएर गाडी लिन सकिने स्किम समेत सार्वजनिक गरेको थियो । बैंकले समय समयमा इलेक्ट्रिक भेइकलका लागि छुट्टै स्किम समेत ल्याइरहेको हुन्छ ।

नविल बैंकले निजी र कमर्सियल गाडीका लागि बेस रेटमा ७ प्रतिशत सम्म थपेर अटो लोन उपलब्ध गराउने बताएको छ । इलेक्ट्रिक भेइकलका लागि भने ६ प्रतिशत मात्र लिने बैंकको नीति छ । नविल बैंकको बेस रेट ८.७७ प्रतिशत छ ।

नेपाल बैंक लिमिटेडले बेस रेटमा ५ प्रतिशत सम्म थपेर विभिन्न प्रकारको अटो लोन उपलब्ध गराउने भए पनि इलेक्ट्रिक भेइकलका लागि भने ४ प्रतिशत सम्म मात्र थप्ने बताएको छ । बैंकको बेस रेट ७।९९ प्रतिशत छ ।

यद्यपि हाल बैंकहरुमा तरलताको अभावका कारण बैंकबाट आवश्यक मात्रामा अटो लोन उपलब्ध हुन सकेको छैन । यसले गर्दा व्यवसायमा पनि प्रत्यक्ष असर पुगिरहेको गाडी किन्ने र बेच्ने दुवैको गुनासो छ ।

आगामी दिनमा तरलताको समस्यामा पनि हट्दै जाने र सरकारले लिने नीतिले पनि यो व्यवसायमा केही फाइदा पुग्ने अपेक्षा धेरैको छ । यसो भयो भने भविष्यमा विद्युतीय सवारीका लागि अटो लोन दिन बैंकहरु अझै सकारात्मक बन्ने अपेक्षा गर्न सकिन्छ ।

Skip This
Logo