ईमेज अवार्डको २२औं संस्करण असोज ३ मा

ईमेज अवार्डको २२औं संस्करण असोज ३ मा


ईमेज अवार्डको २२ औं संस्करण आगामी असोज ३ गते आयोजना हुने भएको छ । ईमेज च्यानलले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो ।

गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड गरी १५ विधाका उत्कृष्ट पाँच मनोनयन समेत सार्वजनिक गरिएको छ । यस वर्षदेखि नयाँ विधाका रुपमा नेपहप याप प्रस्तुती पनि प्रतिष्पर्धामा समावेश गरिएको आयोजकले जनाएको छ । कोभिडका कारण विगत दुई वर्ष अवार्ड कार्यक्रम गर्न सम्भव नभएपछि सो अवधिलाई समेत समावेश गरेर वि.सं २०७६ साल असार १ गतेदेखि वि.सं. २०७९ साल जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली गीत, संगीत, रचना र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको जनाएको छ । 

यसपटक भने पब्लिक च्वाईस अवार्डको एक विधाका लागि अनलाइन भोटिङ इमेज खबरमार्फत खुला गरिएको छ । यस विधामा सर्वाधिक भोट पाउने गीत र त्यसका श्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिने आयोजकको भनाइ छ । ईमेज लाइफटाइम अचिभमेण्ट अवार्डबाट यस वर्ष वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्न लागेको ईमेज च्यानल प्रमुख कार्यकारी कार्यकारी डा. महेन्द्र बिष्टले बताए । 

उनले भने ‘हामीले इमेज अवार्डको २२ औं संस्करणसम्बन्धी टप ५ सार्वजनिक गरेका छौँ । यसमा १५ विधा छन् र १५ वटा नै विधाको टप ५ सार्वजनिक गरेका हौँ । त्यसमा उत्कृष्ट ५ मध्येबाट सर्वोत्कृष्ट १ लाई असोज ३ गते हुने ग्राण्ड फिनालेमा इमेज अवार्डको रुपमा वितरण गर्नेछौँ । लाइफटाइम एचिभमेण्ट अवार्डको रुपमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलाई समर्पण गरेका छौँ ।’

च्यानलले नेपाली गीत, संगीत क्षेत्रको उत्थानका लागि समर्पित संगीतकर्मीको सम्मान एवं प्रोत्साहन हेतु अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

Logo