कोरोना सकिसंगै तातिएको तीज

कोरोना सकिसंगै तातिएको तीज


हिन्दू नेपाली महिलाहरुको महान पर्व तीज सबैको घरदैलोमा आइसकेको छ ।

विगत दुई वर्षदेखि कोरोना महामारीले सुस्ताएको तीजको माहोल महामारी कम भएसँगै फेरी रंगिएको छ । कोही पार्टी प्यालेसमा कार्यक्रम आयोजना गर्दै तीज मनाइरहेका छन् भने कोही सोह्र श्रृंगार गरेर टिकटक बनाउँदै रमाइरहेका छन् । यसपाली कस्तो छ त तीजको चहलपहल ? आजको अंकमा हामी यसैबारे चर्चा गनेर्छौँ ।

हिन्दू महिला तीजको तयारीमा लागेका छन् । हरेक सालपिच्छे फरक कपडा र गहनाको फेसन गर्ने प्रवृत्ति तथा फेसनका नाममा हुने गतिविधिका कारण नेपाली महिला आलोचित हुने गरेका छन् । त्यतीमात्रै नभएर तीजका नाममा अश्लील गीतहरुका कारण कलाकारहरु समेत हरेक वर्ष विवादित बन्ने गरेका छन् ।

दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका देशभरका महिला यस वर्ष भने धुमधामले तीज मनाइरहेका छन् । यस वर्ष केही दिनअघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुरु गरिसकेका छन् । गत महिना मोडल करिश्मा ढकालले ‘पापाकी परी’ बोलको तीज गीतको म्यूजिक भिडियोमा पेटिकोट लगाएर डान्स गरेको दृश्यले उधूमै मच्चायो । साउथ फिल्म ‘पुष्पा’को ‘सामी सामी’ गीतबाट पेटिकोट डान्स उठाइएको थियो ।

करिश्माको पेटिकोट डान्सको चर्चा मत्थर हुँदै गर्दा अर्की अभिनेत्री तथा मोडल एलिजा गौतमको साडी डान्स यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । एक महिनायता एलिजा क्यानडामा छिन् । त्यहाँ उनको आमा–बुबा बस्छन् भने छोरीलाई पनि त्यहीँ पढाउँदै आएकी छन् । जसले गर्दा उनी क्यानडा बाक्लै रुपमा पुगिरहेकी हुन्छिन् । क्यानडामै तीजको एक पार्टीमा उनले ‘काला चश्मा’ बोलको हिन्दी गीतमा अनौठो शैलीमा डान्स गरिन् । उनले साडीमा नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्पी बनेको छ ।

उनको डान्सलाई लिएर चौतर्फी रुपमा ट्रोल बनिरहेको छ भने सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया मिलिरहेको छ । फिल्म र म्यूजिक भिडियोबाट नमिलेको चर्चा यतिबेला उनलाई एउटा डान्स स्टेपले दिलाएको छ । एलिजाले एक दर्शकको प्रतिक्रियामा जवाफ दिदै पहिले अहिलेको ट्रेन्ड वुझ्नुहोस् अनी प्रतिक्रिया दिनुहोला भनेर जवाफ फर्काएकी छिन् ।

एक समय मठ मन्दिरबाट तीज सुरु हुन्थ्यो । गाउँभरका महिला मिलेर नजिकैको मठ मन्दिरमा जान्थे, पूजा आराधना गर्थे, तीजका गीत गाउँथे, नाच्थे। त्यो समय महिलाले मनका कुरा गीतमा व्यक्त गर्ने त्यही एउटा समय थियो । वर्षभरि मनमा गाँठो परेर बसेका कुरा गीतबाटै फुकाउँथे । पहिले तीजका लागि सामान्य तयारी हुन्थ्यो । अहिले जस्तो तामझामसहित सबै ध्यान त्यसैमा लगाउने चलन थिएन ।

घरमै सामान्य परिकार बनाइन्थ्यो । चाम्रे, खीर, ढकिया बनाएर खान्थे। तीजकै लागि अनेक सामाग्री नै जुटाउने चटारो हुँदैनथ्यो । त्यसैले अघिल्लो दिनमात्रै तीज लाग्थ्यो । तर केही वर्षदेखि तीज पार्टी प्यालेसमा लाग्न थाल्यो । विशेषतः शहरका महिलाहरुले एक महिना अघिबाटै पार्टी प्यालेसमा तीज मनाउन थाले। खाने पिउनेदेखि नाच्ने पनि महिना दिनअघि नै सुरु भयो । 

पार्टी प्यालेसमा तीज लागेपछि असार अन्तिमबाटै रातो साडीमा सजिएका महिलाहरुको ठूलो संख्या सडकमा देखिन्थ्यो। पार्टी प्यालेसदेखि ब्युटीपार्लरसम्मले राम्रो व्यापार गर्थे । यो क्रम कोरोना महामारी अघिसम्म बढेकै थियो । अहिले पातलिएको छ । तथापि अहिले पनि पार्टी प्यालेसमा तीजको रौनक बाँड्ने महिला प्रशस्तै छन् । धेरै पार्टी प्यालेस अहिले प्याक छन् ।

अघिल्लो वर्षसम्म तीजको सन्दर्भ पारेर सार्वजनिक गरिएका गीत-संगीतको पनि अत्यधिक विरोध भयो। यो वर्ष विरोधको यो क्रम घटेको छ । पार्टी प्यालेसभन्दा तीजको रौनक अहिले टिकटकमा छ । अर्थात्, अचेल तीज टिकटकबाट सुरु हुन्छ । तीजका गीतमा टिकटक बनाउन महिलाहरु चिटिक्क हुने गरेका छन् ।  नयाँदेखि पुराना गीतहरूमा टिकटक बनाइरहेका छन् । 

अहिले गहना र नयाँ डिजाइनका लुगाको फेसन ट्रेन्ड पनि टिकटकबाटै सुरु भएको छ । टिकटकमा तीजको रौनक कोरोनासँगै सुरु भएको हो । कोरोनाकालमा पार्टी प्यालेस बन्द भए । घर-माइती गर्ने सडक, बाटो बन्द थियो । यही बेलादेखि टिकटकमा तीज लाग्न थालेको हो । कोरोनाकालमा गाउँ, सहरमा नआएको तीजको रमाइलो टिकटकमा देखियो ।

त्यसयता टिकटकमा तीजको रमाइलो झन् बाक्लिएको छ । तीजको अवसर पारेर बनाइएका गीतका टुक्कामा दिदी–बहिनीहरुको छमछम देख्न सकिन्छ । टिकटक बनाउनकै लागि महिलाहरुले नयाँ पहिरन, श्रृंगार सामग्री र गहना निकालेका छन् । फुल मेकअप गरेर टिकटक भिडियो बनाइरहेका छन् । टिकटकमा भव्य तीज लागेको छ । 

Logo