कथा : शीला

‘त्यस दिन तिनको हेराइमा मेरो कोट नै प्रमुख महत्वको थियो ।’ मैले मनमनै सम्झेँ ।

त्यो हप्ता म करिबकरिब अफिसमा अनुपस्थित भएँ । निकै चर्चापरिचर्चाहरू चलेछन् –मेरा बारे । अफिसमा बितेको हप्ता खास काम केही थिएनन् ।

मैले आफूलाई राजधानीको धपेडीयुक्त जीवनबाट केही दिन भए पनि ‘रिल्याक्स’ गर्न यसपटक नुवाकोटलाई रोजेको थिएँ ।
म सात दिनको क्यावि लिएर सरासरी बालाजुको माछापोखरीनेरको नुवाकोट बस काउन्टरमा गएँ । बस लागिरहेको रहेछ ।

मैले टिकट काटेँ । मेरो सिट क्याबिनमा परेछ । म आफ्नो मेरो टिकटमा लेखेको नम्बर खोज्दै बसमाथि उक्लिएँ । गएर सिट हेरेँ । सँगैको सिटमा एउटी युवती बसेकी रहिछन् । म मेरो झोला उनलाई हेरिदिन भन्दै पानपराग किन्न ओर्लिएँ ।
म बसमा चढ्दा बस लगभग हिँड्न लागिरहेको थियो । ड्राइभर आफ्नो सिटमा बसेर हर्न लगाइरहेको रहेछ –प्वाँप्वाँ …..प्वाँप्वाँ….. ।

बस हिँड्यो । हामी दुवै हल्का परिचयमा आयौँ ।
मैले परिचय यसरी दिएँ –‘मेरो नाम नृपेश ढकाल । घर चितवन । म हिजोआज ‘शान्तिपुर’मा पत्रकारिता गर्छु । बसाइ त्यहीँ बालकुमारीनेर । समाजशास्त्रको स्नातकोत्तर ।’

उनले जवाफमा चुइगम तेस्र्याउँदैँ भनिन् –‘दाइ म शीला पाण्डे । ताहाचलमा बीएड, तृतीय वर्षकी विद्यार्थी । मेजर विषय जनसंख्या । म परीक्षा सकेर घर हिँडेकी । पहाडमा मेरा बाआमा, दाजुभाइ, दिदीबहिनीहरू छन् । म घरकी माहिली छोरी । दिदी बिहे गरेर आफ्नो घर गइसक्नुभयो । घर विदुर नगरपालिका ४ मा पर्छ ।’

ओखरपौवा कटिसक्दा हामीले अर्कोपटक एकएकवटा चुइगम खायौँ । मैले मेरो झोलाबाट दुई पोका वाइवाइ झिकेँ । एउटाको मुख च्यातेर उनीपट्टि सोझ्याएँ ।

‘बैनी लिऊँ न ।’ मैले भन्न नपाई उनले भनिन् –‘दाइ म यात्रामा केही पनि लिन्नँ ।’ मैले निकै जिद्दी गरेपछि उनले अलिकति आफैँले खन्याएर लिइन् ।

अर्को पोका खोलेँ तर त्यसको अहिले आवश्यकता परेन । मैले त्यो मेरो झोलाको चेन खोलेर भित्रै राखेँ । उनले उनका हातको पोको मेरो हातमा थमाइन् । मैले भने –‘धन्यवाद !’

यति भनिसक्दा बस चियाखाजा खाने जिरो किलो भन्ने स्थानमा रोकिएको थियो ।

भर्खर असार लागे पनि त्यो ठाउँमा कुहिरोले ढाकेको थियो । ठाउँको नामचाहिँ के थियो मैले बिर्सिएँ । हुन् त उनले दुईतीनचोटि त्यसको नाम भनेकी थिइन् तर मलाई हेक्का भएन ।

म धेरै दिनदेखि मेरो उपन्यासको प्लटका लागि पात्र खोजिरहेको थिएँ । मभित्र नेपाली उपन्यासमा हङ्गामा खडा गर्ने खालको उपन्यास लेख्ने भित्रैदेखिको जोश दुईतीन महिनादेखि मडारिइरहेको थियो । मैले जबजब नयाँ कृतिहरू लेख्ने गरेको थिएँ । त्यसबेलामा म राजधानीबाट छोटो छुट्टी लिएर केही दिन भए पनि हराउने गर्थेँ । आज त्यसैगरी हराएको थिएँ । कथाको खोजीमा ।

आजकाल कथा खोज्न आख्यानकारहरू लेखन कुटीमा जान्छन् । दमडी हुनेहरू नगरकोट र धुलीखेल जान्छन् । मसँग दमडी थिएन । त्यसैले मैले नुवाकोट रोजेको थिएँ । अँ ! हामीले त्यो सानो बजारमा चियाखाजा खायौँ ।

बर्खाको मौसममा पनि जाडोजाडो थियो । मैले त्यसदिन मेरो मन पर्ने र मैले बिहेमा सिलाएको उही धर्के पुरानो कोट लगाएको थिएँ । त्यसैले मलाई जाडो छलेको थियो ।

मैले पैसा तिरेँ । मलाई पैसा नतिर्न तिनले निकै अनुरोध गरिन् तर मैले मानिनँ । मैले भनेँ –‘म जागिरे तिमी एउटी शिक्षार्थी ।’ उनले अप्ठ्यारो मानिन् । मैले त्यसलाई सहज रूपमा लिएँ । अक्सर गरी म यात्रामा केही न केही कच्याक्कुचुक् खाइरहन्छु । हुन त मेरो चुरोटको अम्मल छ । हिजोआज बस यात्रामा यात्रुहरू बसभित्र चुरोट पिउन दिँदैनन् । फेरि हामीजस्ता बुझेकाहरूले जिद्दी गरेर खानु पनि त भएन । त्यसैले म आफ्नो तलतल मेटाउन चुइगम र पानपरागजस्ता केही न केही मुखमा हालेर चपाइरहन्छु ।

अलि पर पुगेपछि ससाना केटाहरू स्ट्रबेरी बोकेर बसमा चढे । तिनले केही रूपैयाँको स्ट्रबेरी किनिन् । मैले एउटासँग काँक्रो किनेँ । उनले मलाई अलिकति स्ट्रबेरी दिइन् । मैले उनलाई एक चिरो काँक्रो दिएँ । गाडी उबड्खाबड् बाटामा कहिले डिस्को त कहिले भाङडा नाच्दै अगाडि बढ्दै गयो ।

गफिँदै हिँडेका हामीलाई कतिखेर ककनी पुगियो ? कतिखेर तादीको पुल तरेर नुवाकोट पुगियो ? पत्तै भएन ।
हामी विदुर पुग्दा दिनको एक बजेको थियो ।
गाडी त्रिशूली बजारसम्म पुग्ने रहेछ । मेरो त्यति धेरै लगेज पनि थिएन त्यसैले म पनि उनीसँगै त्रिशूली बजारसम्म जाने भएँ ।
अति गर्मी थियो –त्यसबेला त्यहाँ ।

हामी रहलपहल गफ बिट मार्दै त्रिशूली पुग्यौँ ।
उनी बसबाट ओर्लेपछि हिँड्ने तर्खर गर्न थालिन् । मैले खाजाको अफर गरेँ । तिनले पहिले त मानेकी थिइनन् तर मैले धेरै नै कर गरेपछि स्वीकृतिसूचक टाउको हल्लाएर चिनेको एउटा स्थानीय होटलमा अघि लागिन् । म तिनको पछिपछि लागेँ त्यसरी–जसरी लैनो गाईको पछाडि उसको काखको बाछो पछिपछि लाग्छ । केही उत्सुकता र केही रोमाञ्चकताले मलाई भित्रभित्र काउकुती लगाएको थियो ।

मेरो मनमा अनेक कुराहरू खेल्न थाले ।
मैले त्यहाँ चाउचाउ र दुईवटा फ्यान्टा मगाएँ । मभित्रको लेखकले तिनलाई पात्र बनाउन अह्राउँदै थियो । तर त्यो समय लेख्नका लागि सोच्ने समय थिएन । हामी खाजा खान थाल्यौँ । खाजा खाइसकेपछि उनी मसँग विदा हुन चाहिन् । मैले आफ्नो भिजिटिङ कार्ड दिएँ । उनले आफ्नो मोबाइलको नम्बर दिइन् ।

जाने बेलामा मैले उनीसँग हात मिलाउन खोजेँ । उनले नमस्ते गरिन् । उनीसँग छुट्टिन मनले मानिरहेको थिएन । तर उनी गइन् । मैले कस्तोकस्तो महसुस गरेँ ।

म आफ्नो हप्ता दिनको क्यावि सकेर राजधानी फर्किएँ । मैले नुवाकोट भ्रमणमा एकजना त्यहीँका स्थानीय शिक्षक साथीसँग उनैको मोटरसाइकलमा नुवाकोटको साततले दरबार, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट अवलोकन गरेँ । मेरा ती साथी नाम हरि पाण्डेजी बट्टारकै एक स्थानीय स्कुलमा विज्ञान विषय पढाउँछन् । उनी मेरा असाध्यै थोरै र मिल्ने साथीहरूमध्ये पर्दछन् ।

शीलासँगको विदाइपश्चात् मैले नै हरिजीलाई मोबाइलमा सम्पर्क गरेँ । मैले भनेको ठाउँमा उनी एक मिनेटको पनि फरक नपारी लिन आए । मैले उनका घरमा लैजानका लागि केही फलफूल किनेको थिएँ । हामी उनैको मोटरबाइकमा उनको घर गयौँ । तीन दिनको आतिथ्यमा मैले उनको घरलाई मन्दिरका रूपमा पाएँ । तिनी संगीतमा असाध्यै दिलचस्पी दिने स्वभावका रहेछन् । बाबु सामान्य जजमान गर्दा रहेछन् । पण्डितजी भनेपछि सारा विदुरले उनका पिताजीलाई चिन्दो रहेछ ।

हरिले शीलालाई पनि चिन्दा रहेछन् । पछि उनीसँग कुराकानी गर्दा के थाहा भयो भने शीला त उनकै गाउँकी बहिनी नाता पर्ने रहिछन् । त्यो कुरा थाहा पाएपछि ममा शीलाप्रतिको माया अझ बढेर गयो । साथीले शीलाका बारेमा निकै कुरा भनेका पनि थिए । शिलाको जीवनप्रतिको दृष्टिकोण र संघर्षशील व्यक्तित्वको जानकारी पाएर मैले शीलालाई अब आफ्नै मनमा कसोकसो सजाउन पो थालेछु ।

त्यसपछिका केही दिन म मेरो अखबारीय काममा यति बेफुर्सदिलो भएँ कि मैले मेरो नुवाकोट भ्रमण, शिलासँगको परिचय र अनन्य मित्र हरिजीको घरमा प्राप्त भएको आतिथ्यता भुलिसकेको थिएँ ।

राजधानीको बेफुर्सदी जीवनका घडीपलाहरूमा फन्फनी घुम्दै गएँ ।
एकदिन म पत्रिकाको कार्यालयमा बसेर सम्पादकीयलाई कम्प्युटरमा लेखी फाइनल ‘प्रुफ’ हेर्दै थिएँ । अचानक मेरो मोबाइलमा एउटा म्यासेज आयो । त्यसमा लेखिएको थियो –‘प्लिज कन्ट्याक्ट मी सुन ।’

मैले मोबाइलमा तिनको नम्बर सर्च गरेँ । फोन लाग्यो । उठ्यो । तिनी बोलिन् । तिनको बोलीमा शालीनता थियो । निकैबेरको कुराकानीपछि तिनले मलाई फेरि समय मिलेमा नुवाकोट भ्रमणको निम्तो दिइन् । मैले ‘ओके’ भन्दिएँ । त्यसपछि म फेरि आफ्नै सम्पादकीयमा तन्मय भएँ । पछि निकै हप्तासम्म तिनको न मलाई म्यासेज नै आयो । न मैले तिनलाई फोन गर्न नै भ्याएँ ।

म आफ्नो घर, जागिर र लेखनमा दौडिरहेको थिएँ । एकदिन काम विशेषले एउटा प्रकाशककहाँ जान भनेर पुतलीसडकबाट शंकरदेवतिर लाग्दै थिएँ । कुमारी बैङ्क अगाडि एउटी नारी आवाजले बिस्तारी बोलायो –‘ढकाल सर ! हेल्लो ढकाल सर !’

हेरेँ । उनी शिला रहिछन् । छक्क परेँ । कुराकानी भयो । तिनी हिजो नै काठमाडौँ  आएकी रहिछन् ।
यसपटक तिनी निकै उदास थिइन् । कारण सोधेँ । उनले बताइन् –‘टेन्सन छ सर, मलाई सारै टेन्सन छ ।’

म सुन्दै गएँ । तिनी भन्दै गइन् –‘मेरो परिवारमा उथलपुथल भयो । यसैपाला बिहे गरेको मेरो दाइको घर बिग्रियो । मैले दाइलाई कति सल्लाह दिएँ तर वहाँले मान्नु भएन् । दाइ आफैँमा पढेलेखेको मानिस । अंग्रेजीमा एमए । भाउजू पनि इपिएममा एम्एड् । मैले वहाँहरूलाई केकसरी काउन्सिलिङ गर्ने मेलोमेसो पाइन । म त भर्खर ब्याचलर सकेकी वहाँहरूकी फुच्ची बहिनी । मेरो भन्नु एकमात्र दाजु हुनुहुन्थ्यो वहाँको जीवन त्यसरी बिहेपछि बिग्रन्छ भन्ने मलाई थाहा भएको भए म ती भाउजू भएर आउने केटीसँग बिहे गर्ने सल्लाह दिने थिइन ।’ त्यसपछि शीलाले धेरै कुरा भनिन् ।

म व्यस्त थिएँ । हामी छुट्टियौं । त्यसपटक उनैले मलाई नजिकैको कफी सपमा कफीको रिक्वेस्ट गरिन् । हतारहतारमा हामी कफी लिएर फोन गर्ने सल्लाहका साथ छुट्टियौँ ।

भएछ के भने, तिनको दाजुको त्यही असारमा तनहुँतिरकी केटीसँग अपर्झट बिहेको कुरा छिनिएछ । तिनी आफ्नो विद्यार्थी जीवनमा निकै मेधावी रहिछन् । आफ्नो साथी सर्कलमा तिनले पढाइलेखाइमा निकै तहल्का मच्चाएकी रहिछन् । पछि आफ्ना साथीहरूको कसैको धनी बेपारीसँग, कसैको ठूल्ठूला पदका कर्मचारीसँग बिहे भएकाले तिनी सारै निराश भएकी रहिछन् । तिनको एउटै मात्र धोको भनेको लोग्ने सक्षम र कुस्त पैसा कमाउने हुनु पथ्र्याे भन्ने रहेछ । उनका दाजु लोते खालका डिग्री होल्डर भएकाले तिनले सुरूसुरूमै आफूलाई खरो रूपमा प्रस्तुत गर्न थालिछन् ।

दाइ पनि कोचिल्गाँडे स्वभावका रहेछन् । बिहेको कुरा छिनेको दिनमै केटीसँग एक्लै कुरा गरेर ‘तेरो कसैसँग लभसभ केही छ कि छैन ?’ भनेर सोधेका रे ! ‘यस्तो पनि कहीँ सोध्नु हुन्छ त ?’ शीलाले मसँग भन्थी –‘पछि पो हामीले थाहा पायौँ । दाजुको पनि आफ्नै गाउँकी केटीसँग र भाउजूको पनि तनहुँकै केटासँग लभ रहेछ ।’

दुईजना दुईतिरबाट इन्गेज भएपछि विवाहको पहिलो रातदेखि नै दुवैले दुवैलाई शङ्का गर्न थालेछन् । भाउजूले फेरि दाजुको अस्थायी मास्टरको जागिरलाई ‘जागिर नै होइन’ भन्नेसम्मका कुरा कड्केर भनेपछि दाजु एक्कासि राँक्किएछन् । महिना दिनमै तिनीहरू डिभोर्स गर्नेसम्म निर्णयमा पुगिसकेछन् ।

‘त्यो थाहा पाएर मलाई निकै तनाव भयो । आफूले जीवनको गति सुरू गरेकै छैन । भएका एकजना अभिभावकजस्ता दाजुको दाम्पत्यमा त्यसरी धमिरा लागिसकेपछि मलाई हुनसम्मको पीर भइरहेछ ।’–शीलाले फेरि एक दिन एसएमएस लेखेपछि मलाई पनि ननिको लाग्यो ।
मैले त्यसपछि शीलाका बारे सोच्नै छाडिदिएँ । किनकि उनका दाजु भाउजूको खट्पटको औषधि मसँग थिएन । मलाई पनि शीलाका दाजु भाउजूको जीवनशैली सम्झ्यो कि दिग्मिग्दिग्मिग् लागेर आउन थाल्यो ।

मैले लेख्न थालेको ‘खोज’ नारीप्रधान उपन्यासमा निकै दिनदेखि कथाको प्रसङ्ग अगाडि बढिरहेको थिएन । कथामा या उपन्यासमा त्यहाँभित्रको कथा क्लाइमेक्समा पुग्न लागेपछि लेखकलाई एक किसिमको औडाहा हुँदो रहेछ । जब मैले नुवाकोट भ्रमणमा शीला र उनको कथाव्यथा नजिकैबाट नियाल्ने अवसर पाएँ । त्यसदिनदेखि म दिनहुँजसो दैनिकी लेख्न थालेको थिएँ ।
मैले निकै महिना दैनिकी लेखेँ ।

आख्यान लेख्ने मानिसका लागि दैनिकी लेखनले विषयवस्तुहरू लेख्न मद्दत गर्छन् भन्ने सुनेको थिएँ । एकपटक जब कथा टक्क अडियो । मैले मेरो ल्यापटप खोलेँ । जहाँ मेरा दैनिकीहरू निकै महिनादेखि लिपिबद्ध गरेर राखिएका थिए । मैले मेरो उपन्यासकी नायिकाका रूपमा किनकिन शीलालाई नै रोजेँ । मेरो ‘खोज’ शीर्षकीय उपन्यासको कथालाई अघि बढाउन मैले शीलासँग भेट भएपछिका दैनिकीहरू ‘दैनिकी–२०७३’ फोल्डरबाट ‘कपी’ गरेर ‘खोज’ उपन्यासमा पेस्ट गरिदिएँ र एडिटिङ गर्न लागेँ …..।

मेरो उपन्यास अझै तयार भएको छैन । प्रकाशक मोरो दिनरात मलाई मोबाइलमा झक्झक्याइरहन्छ । म अपूरो उपन्यास अलिकति ल्यापटपमा र अलिकति दिमागमा राखेर धपेडीको जीवनमा पसिनाले नुहाइरहेको छु ।
शीलालाई सम्झँदै । लेखन यात्राकी सहयात्री शीलालाई सम्झँदै । ……।

espeshal2023@gmail.com