रंगमन्च : मीमांसाको दंश

गत मंगलवार मण्डला थिएटर अनामनगरमा मीमांसा हेरेपश्चात अझैसम्म त्यसको दंश अनुभव गर्दैछु । सक्ड, स्तम्भित । आत्माको रहस्य उधिन्न, आत्माको मीमांसा गर्न मञ्चित नाटक धेरै हदसम्म उत्कृष्ट छ ।

शंकर लामिछानेको कथा । प्रवीण खतिवडाको नाट्य रूपान्तरणसहितको निर्देशन । नाटकमा प्रमुख पात्र डा. सिग्देलको भूमिकामा रंगकर्मी सुनील पोखरेल, उनको सहायक डा. चौलागाईंको भूमिकामा राजकुमार पुडासैनी । नेपथ्यमा आत्माको भूमिकामा निशा शर्मा । प्रहरीको भूमिकामा विजय बराल, घनश्याम जोशी, सुरज तमु, अर्जुन शिवाकोटी, मौसम खडका, आलोक थामी, सुमित तामाङ र वृद्धको भूमिकामा राज न्यौपाने । अभिनय बेजोड छ ।

मनोविज्ञानमा आधारित नाटक मञ्चन गर्नु यसै पनि गाह्रो हुन्छ भनिन्छ । तर खरो उत्रेका छन् प्रवीण । विषय फरक, युवापुस्तालाई तान्ने खालको ।

आत्मा छ वा छैन भन्ने कुरामा विवाद छ, तर्क दुवैतिर छन्, सशक्त पनि छन् । तर त्यससम्बन्धी कुरामा नलागी सतही पाराले आत्मालाई पर्गेलिएको छ, शायद समयको सीमितता पनि हुनसक्छ । भूतप्रेत छ भने आत्मा पनि छ, देवता पनि होलान् । यस विषयमा पनि नाटकले आफ्नै किसिमको तार्किक विवेचना दिने प्रयास गरेको छ । नाटकको आत्मासम्बन्धी धारणामा कति सहमत होलान्, कति नहोलान् त्यो आफ्नो ठाउँमा छ । सबै सहमत हुनुपर्छ भन्ने पनि छैन । त्यसमा सहमति असहमति जे भए पनि मनोवैज्ञानिक कोणबाट आम मानिसको मनमा उब्जने विचारलाई प्रतिनिधित्व गर्न नाटक सक्षम छ ।

यति गम्भीर विषय उठान गर्ने नाटकले अन्ततिर केही हास्यास्पद तरिकाले ‘दर्शकवृन्द, यो सबै नाटक हो’ भनेर टुंग्याइएको छ । अनि आत्मासम्बन्धी गम्भीर खोजअनुसन्धानमा लाग्नेहरूले आत्महत्याकै बाटो अँगाल्छन् त ? खोजअनुसन्धानमा जुट्नेहरू आफैं पागल हुन्छन् र ? रक्सी र चुरोट सेवन नगरी गम्भीर अनुसन्धानमा जुट्न सकिँदैन त ? यस्ता प्रश्नहरू दर्शकका मनमा बारम्बार उठ्छन् ।

नाटक यसरी अघि बढ्छ

अँध्यारो मञ्चमा प्रकाश छिरेसँगै एकाएक चहलपहल बाक्लिन्छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ । मञ्चको देब्रे कुनामा कुर्सीमा बसेरै एक डाक्टरले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । प्रहरीहरू केरकारमा व्यस्त छन् ।

दायाँतर्फ डाक्टरका सहयोगी बर्बराइरहेका छन्, ‘मलाई डाक्टर हरिहर सिग्देलको आत्मासँग कुरा गर्न दिनुहोस् । यसो हुन सक्यो भने डाक्टर सिग्देलको जिन्दगीभरको खोजले सार्थकता पाउनेछ ।’ सहायक डाक्टर अतुल चौलागाईंका यस्ता भनाइ प्रहरीलाई हास्यास्पद र अनौठो लाग्छ ।
उता नाटक अघि बढ्दै जान्छ, दर्शकका मनमा विचार सल्बलाउँछ– ‘के आत्मा हुन्छ ? हुन्छ भने कस्तो हुन्छ ? के आज आत्मा नै यहाँ ल्याएर देखाइदिन्छन् कि के हो ?’ भव्य साजसज्जाले कुतूहल जगाइदिन्छ ।

डा. सिग्देल नवीन खोजमा जुटेका छन् । उनको विचारमा पहिल्यै मरिसकेका विद्वानहरूको आत्मालाई सम्मोहन गरी जीवित व्यक्तिमा ल्याउन सके तत्तत युगका धेरै रहस्य पत्ता लाग्छन् अनि आजका लागि त्यो ठूलो उवलब्धि हुन्छ । उनी न्युटन, आइन्स्टाइन, कार्ल माक्र्स, एरिस्टोटल, लक्ष्मीप्रसाद, भूपी आदिका आत्मा बोलाएर इतिहासको रहस्य उधिन्न सकिने ठान्छन् । त्यस्तै यसो गर्न सके नेपालमा घटित दरबार हत्याकाण्ड, ३३ किलो सुन काण्ड, निर्मला काण्ड आदिका बारेमा पीडित वा मृतककै मुखबाट सुन्न सकिने थियो भनेर डा. सिग्देल उत्साहित हुन्छन् ।

आफूले उपचार गरिरहेका वृद्ध बिरामीको बर्बराइ सुनेर एवं व्यवहार देखेर अचम्मित हुनछन् डा. सिग्देल । आफ्नो सहायक डाक्टरको मृत पत्नीको आत्मासँग वार्तालाप गरेपछि स्तम्भित एवं उत्साहित हुन्छन् । त्यसै वार्तालापपछि हौसिन्छन् । आत्मालोकमा प्रवेश गर्न जोसिन्छन् । आफू त्यहाँ गएपछि गर्ने कामहरूको विस्तृत योजना सहायकलाई बुझाएर रहस्यको गर्तभित्र डुबुल्की मार्न कम्मर कस्छन् ।
डा. सिग्देल आफैं मरेर आफ्ना सहायक डा. चौलागाईंसँग आत्मालाप गर्ने बाटोमा अघि बढ्छन् । आफैं आत्मालोकमा पुगेर विभिन्न आत्मासँग भेटेर रहस्यमयी घटनाहरूको गाँठो फुकाउन आत्महत्याको बाटो रोज्छन् ।

अब के हुन्छ ?

नाटक अन्त्यबाट सुरु भएको छ । अनि फेरि अन्तमा उहीँ पुगेर जोडिएको छ । यो हेरिसकेपछि दर्शकका मनमा प्रश्न उठ्छ– के डाक्टर सिग्देलले गरेको आत्महत्याले अचम्म किसिमको सत्यको खोजी हुन सम्भव छ ? उनका सहयोगी डाक्टर चौलागाईंले यो कुरा सिद्ध गर्न सक्लान् ?

यति हुँदाहुँदै प्रहरीले दर्शकलाई नै घटनाको साक्षी बनाएका छन् । सहायक डाक्टरको कुरामा पत्यार मान्ने कि नमान्ने फसाद प्रहरीलाई छ । डा. चौलागाईंको कुरा पत्याएर झन्झट मोल्ने पक्षमा प्रहरी देखिँदैन । हत्याको अभियोग उनैलाई लाउने सुरमा रहेको देखिन्छ प्रहरी, तत्काल हिरासतमा पठाइन्छ उनलाई ।

दर्शकको जिज्ञासा यथावत् रहन्छ । एउटा कुतूहलमा पु¥याएर छोडिएको छ । अनुमान लगाउन ठाउँ छोडिएको छ । यद्यपि नाटकमा ‘शरीर मरे पनि आत्मा अस्तित्वमै छ’ भन्ने धारणालाई टेवा दिने काम भएको छ । नाटकले एउटा सुषुप्त आम प्रश्नलाई जागाइदिएको छ ।
नाटकले आत्महत्याको वकालत गरेको त होइन कतै भन्ने प्रश्न पनि उब्जन्छ । तर लेखकले समाजकै कथा लेखेका हुनाले यो समाजकै स्वाभाविक चित्रण हो भन्न सकिन्छ । साथै नाटकको अन्त्यमा ‘दर्शकवृन्द, यो सबै नाटक हो’ भनेर नाटकका सबै कमीकमजोरी एवं नकारात्मक पाटाहरूलाई छोप्ने काम गरिएको छ । यो निकै चलाखीपूर्ण काम हो भन्न सकिन्छ ।

हामीकहाँ कतिपय मनोविश्लेषक तथा चिकित्सकहरू डा. हरिहर सिग्देलकै जस्तो अवस्थामा पनि छन् । मनोवैज्ञानिक तथा अनुसन्धाताहरूमा डा. सिग्देलकै जस्तो आफ्नो रिसर्चमा बेहद डुब्नसक्ने स्वभाव हुनु पनि नौलो होइन । एकोहोरो भएर कुनै कुरामा लागिपर्ने मानिसमा हदैसम्म चरम विन्दुमा पुग्ने लक्षण हुन्छ नै । त्यसैले उसले यस कुरालाई सहज स्वाभाविक रूपमै लिनुपर्ने हुन्छ ।
अनुसन्धानमा खटिएका प्रहरीहरूमा गम्भीरता खासै देखिँदैन । उनीहरू हास्य कलाकारको भूमिकामा प्रस्तुत भएका हुन् कि भनेजस्तो पनि लाग्छ । विषयको गम्भीरतासँग उनीहरूको तालमेल उति मिल्नसकेको देखिँदैन ।

र अन्त्यमा,

नाटकमा थोरै पात्र, थोरै दृश्य र कम संवाद भए पनि दर्शक बाँधिइरहन्छन् । नाटकले करिब सवा घण्टा केही प्रश्नको जवाफ दिँदै, केही प्रश्न उब्जाउँदै अनि केही हँसाउँदै दर्शकको ध्यान यताउता जानबाट रोक्छन् ।

निर्देशन र अभिनय त उत्कृष्ट छन् नै, प्रकाश र संगीतले नाटकका दृश्यलाई थप मोहक बनाउन भूमिका खेलेका छन् । प्रकाश परिकल्पना सुनील पोखरेल, राजकुमार पुडासैनी, प्रवीण खतिवडा र उमेश तामाङको समूहले नै परिकल्पना गरेको हो भने संगीतमा निर्देशक प्रवीणले उत्सव बुढाथोकीको साथ पाएका छन् ।

समग्रमा नाटक सशक्त छ, उत्कृष्ट छ, दर्शकको रोमरोममा रोमाञ्च खडा गर्छ । यस उसले गर्दा प्रवीण खतिवडा र उनको टिम बधाईका पात्र बनेका छन् ।

रंगमन्च : मीमांसाको दंश