नियात्रा : लहैलहैमा लाकुरी डाँडा

घण्टाघरका फेदीमा उपस्थित सबैका आदरणीय कोषराज न्यौपानेले यताउति आँखा डुलाएर खाँटी पूर्वेली लवजमा एउटा जिज्ञासा राख्नु भो– ‘ख्वै त ! सच्युतजी आइपुग्नु भा’छैन ? कि, नजाने हो उहाँ ?’
‘उहाँ आउँदै हुनुहुन्छ । आइपुग्ने बेला भयो ।’

क्याम्पस हाताभित्र जम्मा भएका भीडको बीचबाट कसैले दक्षिणाभिमुख भएर उभिएका यी आदरणीय पात्रलाई पूर्व फर्केर उत्तर लगायो ।
‘आउनुहुन्छ । किन नआउनु ! हिरोको रोल त अन्तिममा हुन्छ नि सर ।’
यतिखेरकी चर्चित कथाकार ‘निरूपा प्रसून’ ले बिना कुनै हिच्किचाहट सबैका सामु सुरिलो स्वर छरिन् ।
‘त्यही त ।’

उपस्थित भीडले तालीबिनै त्यो सुरिलो स्वरमा समर्थन मिसायो । यस समर्थनले वसन्त ऋतुसँग भरखर लगनगाँठो कस्दै गरेको चैत्रमासको शीतल बिहानी हत्तपत्त कसैले भेउ नपाउने गरी घण्टाघरतिर फर्किएर मुसुक्क मुस्कुरायो । फागुन उनन्तीसका लागि कामकुरो छिनिएको यो वनभोजको मिति कोही कसैको लगन नजुरेका कारण अर्को साइत निकालेर आज अर्थात् २०७२ चैत्र ६ गते शनिबारका दिन सारिएको छ ।
सुरुमा बिहान सात बजे क्याम्पस परिसरमा बसको सिट ओगट्न आइपुग्नुपर्ने ह्विप संशोधन भएर सात पैँतालीसमा रूपान्तरित भएपछि मात्र मेरा लागि यो यात्रा सकिनसकि सम्भव बनिरहेछ । बिहानको सात अठ्चालीस बजेतिर कोषराज सर र म एक पाइला अगाडि पछाडि नगरी त्रिचन्द्र क्याम्पसको घण्टाघरतर्फको परिसरमा प्रवेश गर्यौ ।

उहाँसँगको मेरो चिनाइ २०३५ सालदेखिको हो तर एकतर्फी । म उहाँ मात्र नभएर उहाँको सेरोफेरोलाई चिन्थेँ । तर, उहाँले मेरो सिङ्गो अनुहार पनि चिन्न भ्याउनु भएको छैन । वा, त्यति वास्ता गर्नु भएको छैन । सबै गुरुको विशेषता हो योे, एउटाको मात्र होइन । किनकि, शिष्यले केही गुरुको मात्र टाउका सम्झे पुग्छ, गुरुहरूले सहस्र शिष्यको टाउका सम्झन पर्ने हुन्छ जुन सम्भव पनि छैन । यसलाई मैले सहज र स्वाभाविक रूपमा लिएको छु ।

वनभोज विद्यार्थीहरूको स्वलगानीमा आयोजना हुँदैछ, बाह्य प्रायोजक कोही छैन । आपसी भेटघाट, खानपिन, भलाकुसारी, मित्रता नवीकरण, साहित्यिक कार्यक्रम वा यस्तैका माध्यमबाट अक्षरको सम्मान गर्दै नयाँ ठाउँसँग परिचय गर्ने उद्देश्य बोकेका छन् वनभोजका सहभागीले । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमै पनि अरू कुनै उद्देश्य छैनन् । हुन पनि २०५३ साल अर्थात् त्रिचन्द्र क्याम्पसमा नेपाली स्नातकोत्तर पढाइ सुरु भएपछिको पहिलो समूहका विद्यार्थीदेखि हालसम्मका इच्छुक विद्यार्थीको जमघट छ यहाँ । पुरानो पुस्ताको पहिलो समूहको प्रतिनिधित्व शेषनाथ पौडेल, जो त्रिचन्द्र क्याम्पसमै प्राध्यापन गरिरहनुभएको छ, ले गरिरहनुभएको छ भने दोस्रो समूहको प्रतिनिधित्व पनि म एक्लैले गर्दै छु । मृगका बथानझैं बुर्लुकबुर्लुक उफ्रन र नथाकीकन स्वर हालेर कराउन सक्ने हामीपछिका चाउरी नपरेका पुस्ताको भने उल्लेख्य सहभागिता छ यहाँ ।

म एक्लो अनुभव गरिरहेछु, आफ्नो वय र लयका साथीभाइको अभावमा । तैपनि वनभोजको उद्देश्य राम्रो भएकाले सकारात्मक रूपमा मैले आपूmलाई यहाँ उभ्याएको छु । आपूm उभिएभन्दा अलिकपर दुईजना बहिनी थालीमा अबिर र अक्षता मुछेर वरिपरि उभिएकालाई टीका लगाइरहेको देख्दै छु । विद्यार्थीहरूले मौका छोपेर कतै सरस्वती पूजा पो गरेछन् कि भन्ने अनुमान लगाउँछु तर होइन रहेछ । मेरो अनुमानको विपरीत उनीहरू त लक्ष्मीको प्रत्यक्ष आह्वान गर्दै रहेछन् रातो टीका लगाएर । टीका लगाइदियो, वनभोजका लागि लक्ष्मी भित्र्यायो । कोही छुट्ने पनि भएनन्, कोही दोहोरिने पनि भएनन् । न रसिद काट्न प¥यो, न अरू कुनै झन्झट व्यहोर्न नै । जन्तीलाई जस्तो टीका लगाइदिएर सरस्वतीको मन्दिरमा हाताहाती लक्ष्मीको आह्वान गर्ने यो नौलो तरिका मलाई अत्यन्तै रमाइलो लाग्यो । हिँड्दाको साइतजस्तो पनि, लिँदाको दक्षिणाजस्तो पनि । न लिने दरमा द्विविधा, न दिने दरमा द्विविधा । क्या मज्जाको लेनदेन !!

वनभोजका लागि साइत गर्नुअघि फोटो खिच्ने धुनमा देखिँदै छन् विद्यार्थी सहभागीहरू । अगाडि पछाडि लाइन मिलाएर कोही बसे कोही ठडिए । धेरैले धेरैको फोटो खिचे, तर मेरो क्यामेराले पालो पाएन । मेरो मोबाइल क्यामेराको पालो आउँदा नआउँदै भिड ज¥याकजुरूक उठ्यो । सहभागी सबै तितरबितर भए । तैपनि मेरो मानसपटमा भने फोटो खिच्दैगर्दा अघि कुनै साथीले भनेको वाक्य गुन्जिइरहेछ । उनी भन्दै थिए– ‘फोटो सबैको आउनु पर्छ है । शिरदेखि पाउसम्म, नातिदेखि बाजेसम्म ।’

मलाई के मज्जा लाग्यो भने वनभोजका सहभागी वास्तवमै नातिदेखि बाजे उमेरसम्मका थिए । बीचमा पर्ने बाउ उमेरको त कुरै गर्नु परेन । तर एउटा कुरो त्यस भनाइमा कतै मिलाएर ‘शिरदेखि पाउसम्म, नातिनीदेखि हजुरआमासम्म’ पनि भनिदिएको भए अहिलेको लैङ्गिक मुद्दाको पनि केही हदसम्म सम्बोधन हुन्थ्यो भन्ने मलाई लाग्यो । तर त्यतिखेर त्यहाँ कसैले पनि यस विषयमा मुख खोलेनन् । त्यसतर्पm कसैको सोच नै गएन । कुरै सकियो ।

सात पैँतालीसको संशोधित ह्विप बिनासंशोधन नौ बजेसम्म तन्किइसकेको छ । एक दुई जना, एक दुई जना गर्दागर्दै पर्खनुपर्नेको सूची बाक्लिइरहेछ । टिप्नुपर्ने सहभागी अझ बाँकी नै छन् । समयको महत्वको पाठ हामी कसैको पाठ्यक्रममा छैन । अनि यसको महत्व चाल पाउनु पो कसरी ? माझीको सल्लाहभैmँ के गर्ने कसो गर्ने भन्दाभन्दै उर्बर बिहान त्यसै बितिरहेछ । अन्ततः नौ बजेतिर केही गुरु शिष्यलाई घर घर छेउ बस गुडाउने शर्तसहित सुस्त गतिमा गाडी अगाडि बढ्यो । ज्ञानेश्वरमा वासुदेव र बानेश्वरमा राधालाई टिपेपछि गाडी कोटेश्वर हुँदै गन्तव्यतिर पाइला चाल्दैछ । बीचमा एकजना गुरु फेरि भेटिए । आफ्नै शारीरिक अशक्तताका कारण उनी कार्यक्रममा जानेमध्येमा पर्दैनन्, तथापि यसो र उसो गर्दागर्दै पाँचसात मिनेट उनले गाडी रोकिसके । गुरुले कक्षा नसकुञ्जेल विद्यार्थीले कक्षा छोड्न मिल्ने कुरै भएन ।

बल्ल तल्ल चेपारो घस्दै उनले कक्षा सके र सबैले अगाडि बढ्ने मौका पाए । अनि अलिकति अगाडि बढेर ललितपुरको ग्वार्कोबाट गाडी लुभुतिर मोडियो । जुन मोड लाकुरी डाँडाको गन्तव्यको पनि मोड थियो । ललितपुरको यही लुभु हुँदै गाडी लाकुरी डाँडा पुग्न सक्थ्यो । ग्वार्कोबाट गाडी मोडिएको केही क्षणमै दुई जना विद्यार्थीले गुरुहरूको बिँडो थाम्दै फेरि गाडी रोके र बनभोजमा सहभागी हुने टुङ्गो दिए । अब भने बाटोमा टिप्नुपर्ने सबै सहभागीको सूची सकियो र साँघुरो सडक छिचोल्दै रूघा खोकी लागेको विरामीभैmँ घ्यारघ्यार गर्दै गाडी अगाडि बढ्न थाल्यो ।

त्रिचन्द्र क्याम्पस । न कसैको पेवा हो, न कसैको बिर्ता । यहाँ सबैको पहुँच छ । त्यसैले त यतिखेर यस कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबैको उपस्थिति छ । जिल्लागत उपस्थिति नभए पनि क्षेत्रगत उपस्थिति पक्कै छ । एकनासले रमाइरहेका छन् सबै । लोक दोहोरीले बस घन्किएको छ । नेपाली विषयका विद्यार्थी । को भन्दा को कम । सब एकसेएक । विद्यार्थीको प्रतिनिधित्व पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै भए पनि गीतको प्रतिनिधित्व भने नेपालको बिच भागले मात्र गरिरहेको भान भइरहेछ । गाडीभित्र सरस्वती भण्डारी र अरू विद्यार्थी बहिनीहरूको बस नै कुच्चिएलाझैँ को जोडदार आकर्षक नाचले लोक दोहोरीमा थप रौनक मिसिइरहेछ । दोहोरी गायकहरूलाई अझै राम्रो गाउन हौस्याइरहेछ ।

केटा र केटीको दोहोरी चल्दै जाँदा एकले अर्कालाई फकाउने, गलाउने र केटा पक्षले बिहे गरेर लैजाने कुरा गर्नु नेपाली लोक दोहोरीको विशेषता हो । यहाँको गीतले पनि त्यस्तै गति लियो र केटा पक्षले फकाउँदै जाँदा केटीहरूलाई सौतामाथि लैजाने कुरा निकाले । सौताको कुरा सुन्नेबित्तिकै केटी पक्ष तर्सिए र जवाफ लगाए– ‘यो दाइ त के विधि छाडा हो, सौता भन्छौ मुटुको काँडा हो ।’

लोक दोहोरीमा लाने ल्याउने कुरा गर्नु ख्यालख्याल हो । तैपनि अगुल्टाले हानेको कुकुर विजुली चम्किँदा’नि तर्सिन्छ भनेझैं सौता भन्नेबित्तिकै केटी पक्ष तर्सिए । यसले के देखाउँछ भने महिलाहरू वास्तविकतामा मात्र नभएर ख्यालख्यालमा पनि सौता भन्ने शब्द सुन्न चाहन्नन् । हो पनि, महिलालाई मात्र नभएर सौता न सरकारलाई मन पर्छ न निर्वाचित पदाधिकारीलाई । न नेतालाई मन पर्छ न कार्यकर्तालाई । न कर्मचारीलाई मन पर्छ न शिक्षकलाई । यो सौता न व्यापारीलाई मन पर्छ न ठेकेदारलाई । सौता कसैलाई पनि मन पर्दैन । त्यसमाथि नेपाली महिला परम्परादेखि सौताबाट पीडित छन् । मलाई लाग्यो यस गीतमा नेपाली महिलाको आत्मा बोलेको छ । बहुपत्नी समयको पीडा बोलेको छ ।

बहुपत्नी प्रथाको करिब करिब अन्त्य भइसकेको यो अवस्थामा त्यसको अवशेष अलि अलि कतै बाँकी छ भने त्यसप्रतिको खबरदारीमा पनि यो गीत बोलेको छ । त्यसैले त यो लोक गीत बन्न सक्यो र सबैको मन छुन सक्यो । सबैको पीडा एकसाथ समेट्न सक्यो । परम्परा र संस्कृति भनेको पनि यही त हो । जे भोग्दै आइएको छ त्यही ।

लाकुरी डाँडाको पैताला बजार (फेदीस्थित बजार) मा एक्कासि गाडी रोकियो । कहाँ किन के भयो जस्ता जिज्ञासा उत्पन्न भए । सच्युत लगायत कहलिएका दुई चार जना हिरो बिनाहिरोइन बसबाट ओर्लिए । उनीहरूको सङ्केत अनुसार नै गाडी रोकिएको रहेछ । हिरोहरू बजारतिर कतै अलप भए । वनभोजका लागि आवश्यक थप भिटामिन सिरपको खोजीमा गएका रहेछन् उनीहरू । मुख सुकाउने, कान तताउने र एकसाथ कलेजोमा अचुक तीर हान्ने देवजलको खोजीमा गएका रहेछन् उनीहरू । गुरुले जे सिकाए त्यही गर्ने न हुन् शिष्यहरूले । वनभोजमा त्यसको पनि कक्षा आयोजन हुने कार्यक्रम रहेछ इच्छुकहरूका लागि । त्यसैको मेसो मिलाउन खुसुक्क लुसुक्किएका रहेछन् उनीहरू ।

खस्याकखुसुक र लस्याकलुसुकको गतिविधिबाटै थाहा हुन्थ्यो कि यो गतिलो कक्षा होइन । छुटाए पनि हुने कक्षा हो । तर पनि मरिहत्ते त्यसैमा देखिइरहेछ । के के न हुन्छ भनेभैmँ गरी पछि लागिरहेछन् केही कलिला र केही छिप्पिएका जुँगाधारी शरीरहरू ।

क्याम्पस र गाडीमा गुरु फरक फरक हुन्छन् । गाडीमा गुरु चालक हो । रोक्ने गुड्ने सबै उसको अनुमतिमा हुन्छ । तर बसमा चढेका विद्यार्थीहरू प्रौढ कक्षाका भएर पनि केजी कक्षाको जस्तो व्यवहार देखाइरहेथे । गाडीको गति यसो कम हुनेबित्तिकै ओर्लेर हिँड्ने । फेरि मान्छे छुट्यो भनेर कराउने । चालक आजित भइसकेछ । विद्यार्थीहरू गाडी रोक्न कराउँदै गर्दा उकालोको मध्यतिर ऊ मज्जैले कड्क्यो र चालककै चलनचल्तीको भाषा ओकल्यो– ‘… … । पढेलेखेका मान्छे भनेर के गर्नू ? सडकको गति यस्तो छ । जहाँ पायो त्यहीँ जथाभावी गाडी रोक्छन् । नभनीकन हिँड्छन् । तिनैलाई पर्खन र चढाउन फेरि ठाउँकुठाउँ गाडी रोक्न आदेश दिन्छन् । गाडी कहाँ कस्तो ठाउँमा रोक्नु पर्छ भन्ने पनि थाहा छैन यिनलाई । … … ।’

चालकको भनाइ नितान्त अर्गानिक थियो । उसको भनाइले यथार्थ पक्डेको थियो । प्रतिपक्षको भूमिका निर्वाह गरेर प्रतिक्रिया जनाइरहनु पर्ने अवस्था थिएन त्यहाँ । वास्तवमा गाडीको चालकलाई रिसाउने परिस्थिति सिर्जना गर्नु यात्रुको हितमा कदापि हुन्न । यात्रामा सबैले यो कुरा बुझ्नुपर्छ । बाटो साँघुरो थियो । उकालो चढाइ । म भिरपट्टिको सिटमा थिएँ । कतिपय अवस्थामा त डरले झसङ्ग हुँदै म आफैलाई पनि मुटु झिकेर आपैmँले बोकेको झोलामा राखूँझैँ भइरहेथ्यो । भित्तातिर हुनेले चाहिँ यो भेउ नपाएझैँ लाग्थ्यो ।

बिहानको १०.४५ बजे खुइøय गर्दै बसले लाकुरी डाँडा छिचोल्यो । वरिपरि सामान्य हरिया बुट्यानले घेरेको नाङ्गो डाँडो लाकुरी भञ्ज्याङ । वनभोजका लागि आएका थुपै्र टोली । कोही गाना बजानामा छन् कोही नाचगानमा । कोही खानपानमा छन् कोही भलाकुसारीमा । विविधता छ डाँडाभरिको रङ्गीचङ्गी उपस्थितिमा ।

हामीभन्दा निकै अगाडि आएर खाना ठेकदारले ठाउँ ओगटिसकेका रहेछन् हाम्रा लागि । पाल, कुर्सी, चिया, चमेना सबै चिसो मन र शरीर लिएर हामीलाई पर्खिरहेका रहेछन् । हाम्रो ढिलाइप्रति खाना ठेकेदारले सानो व्यङ्ग्यवाण कसेको पनि सुनेँ हाम्रै वनभोज कार्यक्रमका हिरो सच्युत उप्रेतीसँग ।

अव्यवस्थित, शौचालयबिहीन डाँडो । आवश्यकतामा यसो कान्लाकुन्ली छेकिएर थाहा नपाएझैँ काम फत्ते गर्नुपर्ने वाध्यता । खुला दिशामुक्त क्षेत्रको नारा दिइरहेको उपत्यकालाई चुनौती दिँदै उतैतिर फर्किएर काम फत्ते गर्नेहरूको डाँडाभरि लर्को । यसैको सेरोफेरोको थलीमा विराजमान छौँ हामी । धुलो उडेको छ चारैतिर । नेपालमा केही महिना अघि मात्र जारी भएको संविधानभन्दा पनि बढी समावेशी छन् यहाँका धुलाका कणहरू । पक्कै पनि डाँडाभरि सजाइएका खानामा पनि तिनको प्रवेश छ । हामी त्यसलाई थाहा नपाएभैmँ गर्छौँ । बुझ पचाउँछौँ । आखिर स्वस्थ देशको परिकल्पना गर्ने राजनीतिक दलका नेताहरूले पनि त त्यसै गरिरहेछन् । यी त धुला न भए, यिनलाई यतिसम्म बुझ पचाउने अधिकार पक्कै पनि छ ।

लाकुरी डाँडा । धेरै पटक नाउँ सुनेको तर नपुगेको ठाउँ । उपत्यकाभित्रै भएर पनि कता कता अपायक । नजिक भएर पनि टाढा । आज अपूर्व मौका मिलेको छ यहाँ आइपुग्न । पैँतीस साल अर्थात् मैले स्नातक पढ्दादेखि नाता जोडिएको त्रिचन्द्र कलेज । यसैका नाताले डोरिने मौका पाएको छु यो लाकुरी डाँडासम्म । यतिखेर यहाँ एउटा इतिहास उपस्थित छ । त्यतिखेर म लगायतकालाई प्राध्यापन गर्ने गुरु कोषराज प्राध्यापन पेशाबाट अनिवार्य फुर्सत लिएर पनि सहभागी हुनुहुन्छ आज यहाँ । त्यसैले त सहभागिताको प्रकृतिका हिसाबले यस अवसरलाई मैले निकै सुखद क्षण ठानेको छु । हरिप्रसाद पराजुली, कृष्ण गौतम, हरिराज भट्टराई, ताराकान्त पाण्डेय, दुर्गाबहादुर घर्ती, धु्रव भट्टराई लगायतका नेपाली विषयमा प्राध्यापकहरू र अघिल्ला पुस्ताका थप विद्यार्थीहरू पनि भइदिएको भए कार्यक्रम अझै रमाइलो हुन्थ्यो होला भन्ने कल्पनामा पनि म आफूलाई भित्रभित्रै डुलाइरहेछु ।

वनभोज र अन्य यस्तै बहानामा मानिसहरूको जमघट हुन थालेपछि पहिला त निकै खुसी मानेको थियो होला लाकुरी डाँडाले । तर अहिले पक्कै त्यस्तो छैन । मानव सिर्जित यहाँका फोहरले उसको मनमा कता कता मान्छेप्रति घृणा उब्जिएको छ । अहिलेको अव्यवस्था र भोलिको चिन्ताले उसलाई सताएको छ । निकै पिरोलेको छ । कोही हितैषी खोजिरहेछ ऊ भोलिको उज्यालोका लागि सहयोग र सद्भाव प्रकट गर्ने । नखोजोस् पनि किन ? अहिले जे जस्तो दुःख र घिनलाग्दो परिस्थिति सहन परेको भए पनि सुदूर भविष्यसम्म सुखी र शान्त जीवन जिउने अभिलाषा छ उसमा ।

जुटाउने र खुवाउने व्यवस्थापनको जिम्मा घण्टाघर साहित्य सङ्गमले लिएको छ । त्यसैले त सङ्गमकी अध्यक्ष देवीका खुलीमुली निकै सतर्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न सबैतिर नियालिरहिछन् । कतै कसैलाई केही कमी वा अभाव हुन्छ कि भनेर । तर त्यस्तो कोट्ट्याउनै पर्ने व्यवस्थापकीय कमी कमजोरी केही छैन । सबै ठिकठाक छ ।

ढिलै भए पनि बिहानको नास्ता लिइसकेपछि म अरू साथीभाइबाट केही क्षण ओझेल पर्छु । दुईचार जना बाहेक मसँग घुलमिल गर्ने साथीहरूको खडेरी र अनिकाल महसुस गरिरहेछु म । पहिलो पुस्ताको प्रतिनिधित्व गर्ने शेषनाथजी त्रिचन्द्रमै प्राध्यापन गर्ने भएकाले उहाँलाई यस्तो खडेरी र अनिकालको महसुस गर्नुपरेको छैन । तर दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने म भने त्यस्तो अनुभूतिमा जकडिइरहेछु । त्यसैले केही क्षणका लागि म नजिकको जङ्गलतिर खुसुक्क लम्किन्छु र जङ्गलको बीच भागको शीतल छहारीमा अनेकौँ तरङ्गहरूका साथ तल्लीन हुन पुग्छु । त्यसै त्यसै रमाउँदै एकतमासले टोलाउन थाल्छु ।

यसरी टोलाउँदै गरेको मलाई चराहरूको सोधखोजले सजग गराउँछ । चनाखो गराउँछ । ब्युँझाउँछ । सानो तर हरियाली जङ्गल । असाध्यै आकर्षक प्राकृतिक छटा । चराहरूको निरन्तरको सुमधुर चिरबिर । सबै संयोग एकैचोटि जुरेको छ । चराहरूको यो प्राकृतिक सङ्गीतमय सुमधुर चिरबिर चिरबिर सुनिरहँदा तिनले म समक्ष तलका भाव प्रकट गरिरहेझैँ लाग्यो–

कताबाट आयौ साथी एक्लै यहाँ किन ?
बाटो भुल्यौ कि त कतै हो भने त्यो भन ।।
बाटो बताइदिन्छौँ हामी परे देखाइदिन्छौँ
भन साथी अप्ठ्यारो के ? हामी फुकाइदिन्छौँ ।।

म कृतज्ञ भएँ यिनका यी भाव अभिव्यक्तिबाट । मान्छेका आधुनिक बस्ती सम्झिन थालेँ । अचम्म छ ! हामी आफ्नै टोल बस्तीका मान्छेलाई वास्ता गर्दैनौँ । दुःख दिन्छौँ । अपरिचितसँगको व्यवहार त अझ टाढाको कुरो । यिनीहरू हामी जस्ता यिनका जन्मजात शत्रुलाई पनि कति आत्मीय भाव प्रकट गरिरहेछन् यस बिरानो ठाउँमा । अरूको अप्ठ्यारो महसुस गरेर एकाएक सहयोगका हात बढाइरहेछन् । प्राणीमा हुनुपर्ने आत्मीयता दर्शाइरहेछन् । आहा ! कति सुखद परिस्थिति !! मनमनै यति गुनगुनाएपछि मलाई पनि तिनलाई सोधूँ सोधूँ लाग्यो–

कसले दियो सङ्गीतको यति राम्रो ज्ञान
यति मिठो स्वर तिम्रो भाषा पहिचान ।।
कहाँ सिक्यौ भन मलाई सहयोगी हात
दुःख पर्दा बढाउने जोसुकैका साथ ।।

यी धेरैबेरसम्म मसँग बातचित नगर्न सक्छन् भन्ने लागेर तत्काल फेरि अर्को प्रश्न पनि सँगसँगै तेस्र्याउन थालेँ । म चराहरू जस्तो आशुकवि थिइन । त्यसैले यिनलाई सोध्नुपर्ने कुरा यसो कथेर कपीमा टिप्न थालेँ–

जङ्गलमा कति बस्छौ जात थर तिम्रा
लिङ्ग वर्ग क्षेत्र होलान् हाम्रै जस्ता तिम्रा ।।
के कसरी मिलेका छौ ? के कसरी बस्छौ ?
भागबन्डा झगडामा के कत्तिको फस्छौ ? ।।

चराहरू फेरि पनि चिरबिर चिरबिर गर्न लागे । म आफैले कुनै आवाज निकालिरहेको छैन । तर तिनले मेरो जिज्ञासाको जवाफ दिन थाले । मलाई लाग्यो सायद ती चरा पनि साक्षर थिए । होइन भने मैले आफ्ना कपीमा खुला रूपमा कोरेका जिज्ञासाको जवाफ यति छिटै किन दिन्थे तिनीहरू । तिनले मेरा कपीमा हेरेर मेरो प्रश्न बुझेझैँ  लाग्यो मलाई । र त, छोटोमा ती जवाफ लगाउन थाले–

जात जाति हाम्रा पनि कति छन कति
बिग्रिएको छैन अभैm मान्छेकाझैँ मति ।।
लिङ्ग वर्ग क्षेत्र भेद कहीँ कतै हुन्न
भविष्यका लागि साँच्ने हाम्रो सोच हुन्न ।।
जे जुरेको खान्छौँ हामी भोलि जेसुकै होस्
आफ्ना लागि आफै गर्छौँ नातागोता जे होस् ।।
स्वावलम्बी हाम्रो बानी सिक तिमी पनि
स्वार्थीपन छाडिदेऊ जहाँ जाँदा पनि ।।

यति भन्दै तिनीहरू भुरूर्र कता उडे कता ? अब म तिनीहरूसँग तिनको मनोभाव अनुमान गरेर बातचित गर्न सक्ने अवस्थामा छैन । ए ! पख पख !! भन्दै तिनका पछि लाग्न सक्ने क्षमता पनि मसँग छैन । त्यसैले तिनलाई बिर्सेर म आफ्नै धुनमा पूर्ववत् फेरि अगाडि बढ्न थालेँ ।

काठमाडौँ दिन परदिन निसास्सिएर बाँच्न विवश बनिरहेछ । ताजा हावाले गाला सेक्ने ठाउँको खोजी गरिरहेछ काठमाडौँ । उपत्यकाबाट निकै नजिकमा रहेको यस लाकुरी डाँडाको प्राकृतिक संरक्षण गरी यहाँ फराकिलो सडक निर्माण, सहज यातायात, फोहोरको उचित व्यवस्थापन, पानी र शौचालयको उपलब्धता गराउन सके काठमाडौँको खोजी थोरै हदमा भए पनि पूरा हुन सक्छ । हामी कहाँ यस्ता प्राकृतिक छटा पाइला पाइलामा छन् । दैला दैलामा छन् । थुम्का थुम्की सबैतिर छन् । तर हामीले यसको खोजी र सदुपयोग गर्न सकिरहेका छैनौँ । हेर्नुस् त ! कति मिलेर बसेको छ प्रकृति । उसको आफ्नै विधान छ । आफ्नै संस्कृति छ । छलकपटरहित आफ्नै पन छ ।

हाम्रो बस्तीमा हामीले पाले जस्तो आपसी भैmँझगडा, मनोमालिन्य, छलकपट र एक अर्काप्रति रिसराग पटक्कै पाल्दैनन् यिनीहरू । ऊ आफै व्यवस्थित छ । बिगारेको छ भने मान्छेले बिगारेको छ उसलाई । होइन भने ऊ आफै कहिल्यै बिगे्रको छैन । कति व्यवस्थित छ ऊ । उम्रने, पलाउने, पहेँलिने, झर्ने र फेरि पलाउने नियमितता छ ऊसँग । जाडो, गर्मी, घाम, पानी सबैमा उस्तै नियमितता छ । हाम्रो बानी बेहोरामा सुधार नहोउन्जेल हामी र हाम्रो बस्तीसँग उसको तुलना हुनै सक्तैन ।

काठमाडौँ उपत्यकाका प्रत्येक डाँडा झुपुक्क फुल्न सक्छन् । झपक्क फल्न सक्छन् । सडक, यातायात, बत्ती, पानी लगायतका पूर्वाधार निर्माण गर्न सके यिनको भविष्य सुन्दर छ । राम्रो आर्थिक उपार्जन दिन सक्छन् यिनीहरू । उपत्यकामा निसास्सिएका मानव रूपी प्राणीको उद्धारक हुन सक्छन् यी डाँडाहरू । पर्याप्त स्वदेशी तथा विदेशी पर्यटक भिœयाउन समर्थ हुन्छन् यिनीहरू । टाढा किन जानु पर्छ र ? हेर्नोस् न, यी सबै सुविधाको प्राप्ति पछ्याएको नगरकोट अहिले विदेशीलाई मात्र चिन्छ, स्वदेशीलाई चिन्दैन उस्तै परे । चन्द्रागिरि त्यही प्रयासमा छ । गरे के हुन्न र यहाँ ? सबै हुन्छ । सबै पौरख पाखुरीमा छ । सोच र खोजमा छ ।

लाकुरी डाँडा । ऊसँग गतः वर्षको भूकम्पको नमिठो सम्झना छ । २०७२ वैशाख १२ को विनासकारी भूकम्प उसले यही डाँडाबाट नियालेको थियो । हजारौँको सङ्ख्यामा भएको मृत्यु, असरल्ल घाइते, घरबासबिहीनहरूको ताँती र कोलाहल कसरी सुन्यो र नियाल्यो होला लाकुरी डाँडाले । यहाँ आएर रमाएर गएकामध्येबाटै पनि कत्ति गुमायो होला उसले । यसको कुनै लेखाजोखा छैन ऊसँग । यस घटनाले उसको हृदय छियाछिया बनाएको छ, सुदूर भविष्यसम्म नपुरिने गरेर ।

अलिकति अव्यवस्थित भए पनि यो सुन्दर डाँडामा बसेर टोलाइरहँदा म मुलुकका छ्याप्छ्याप्ती अरू यस्तै सुन्दर डाँडाहरूको भ्रमणको सम्झना गरिरहेछु । तुलना गरिरहेछु । विगतमा नियालेका ती दृश्यहरूलाई निकटमा ल्याउने प्रयास गरिरहेछु । मनको हार्ड डिस्क ओपन गर्ने प्रयास गरिरहेछु । एकपछि अर्का फाइल खुल्दै गइरहेका छन् । आवश्यकता अनुसार म तिनलाई निर्धक्कसँग डाउनलोड गरिरहेछु ।
सच्युतजीसँगको मित्रता र त्यसको नियमितता नभएको भए म आज यो डाँडामा हुने थिइन होला । उहाँकै हुटहुटी र लहैलहैमा पछि लागेकैले म यहाँ घोत्लिन पाइरहेछु आज । हुन पनि सच्युतजीले भनेपछि धेरै कुरामा साथ दिँदै आएको छु मैले । हामीबिच कहिले अमिलापिरा कुरा हुन्छन् । अगुल्टो पनि नठोसी बल्दैन भनेभैmँ कहिलेकाहीँ हल्का ठाकठुक पनि हुन्छन् । घर परिवार र इष्टमित्रका कुरा पनि हुन्छन् ।

कार्यालय परिवेशका बातचित र साहित्यिक भलाकुसारी पनि बरोबर हुने गर्छन् । झन्डै तिन दशकअघिदेखिको उहाँसँगको बस उठ यसै गरी बितेको छ । आखिर त्रिचन्द्र क्याम्पसमा नेपाली विषयमा स्नातकोत्तर गर्न पटक पटक उहाँलाई घच्घच्याउने म नै थिएँ, उहाँको सम्झनामा छ भने । यस अर्थमा उहाँलाई हिरो बनाउने भूमिकामा अलिकति मेरो पनि लगानी छ । तर त्यसो भनेर उहाँसँग गुरु दक्षिणा पनि खोजिरहेको छैन म ।

निरूपाजी, हिरोको रोल अन्तिममा होइन सुरुमै हुन्छ । सच्युतजीले सुरुमै हिरोको रोल ननिभाइदिएको भए पक्कै पनि म आज यहाँ तपाईंहरूका सामुन्नेमा हुने थिइन । तिनै हिरोले बेलैमा अनुनय विनय गरेर आजको वनभोजलाई चिरकालसम्म सम्झनैका लागि दुई चार अक्षर कोर्ने यो सुनौलो अवसर मलाई दिलाएका छन्, नढाँटी भन्दा ।