भारत सुपर फोरमा

भारत सुपर फोरमा


भारतले टि२० एसिया कप २०२२ मा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारतले समूह ए बाट अपराजित रहँदै सुपर फोरमा स्थान पक्का गरेको हो । 

जितको लागि १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रनमै समेटियो । हङकङका लागि  बाबार हयातले  सर्वाधिक ४१ रन बनाए भने किन्चित शाहले ३० रन तथा जिशान अली २६ रनमा अविजित रहे । 

बलिङमा भारतका भुवनेश्वर कुमार, अर्शदीपसिंह, रविन्द्र जडेजा र आवेश खानले समान एकएक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादव र विराट कोहलीले अर्धशथक पारी खेले । यादव सर्वाधिक ६८ रन तथा कोहली ५९ रनमा अविजित रहे । केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए ।

हङकङका आयुष शुक्ला र मोहम्मद गजानफरले समान एकएक विकेट लिए ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो। अब समूहका हङकङ र पाकिस्तानबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । विजेता टोली सुपर फोरमा पुग्नेछ ।

Logo