सायनको ‘छुटेका अनुहार’माथि विमर्श

हिजो शनिस्चरे नगरपालिका वडा नम्बर ८ सोमबारे मोरङमा लेखक रमेस सायनको पुस्तक ‘छुटेका अनुहार’माथि विमर्श सम्पन्न भयो । कार्यक्रममा वडाध्यक्ष बाबुराम दाहालले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए । यस्तो कार्यक्रम नगरमै पहिलोपल्ट स्थानीय युवाहरूको सक्रियतामा नयाँ अवधारणाका साथ सम्पन्न भएको हो ।

स्थानीय बुद्ध मा.वि.मा सम्पन्न कार्यक्रम झन्डै साढे २ घन्टा चलेको थियो । रमेस सायनका संस्मरणका बारेमा बुक क्लबका संस्थापक अध्यक्ष युवराज कटुवाल र टिभी नेपालीका गनेस कार्कीले बहस गरेका थिए । सायनले पनि मिलन–बिछोड, माया–घृणा, वैदेशिक रोजगारीका पीडा, गाउँका सुखदुःख तथा यौन जीवनका विषयमा खुलेर बोलेका थिए । कार्यक्रममा नाम कहलिएका स्थानीय साहित्यकारहरू सुमन राई, रोहित पराइ, दीपा दाहाल तथा नगेस काफ्लेले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रमको प्रायोजन वडा नम्बर ८ सोमबारे र नेपाल इन्फोले गरेका थिए ।