जब संसदीय समितिमा बोल्दाबोल्दै रोए योगेश भट्टराई
आइतबार सिंहदरबारमा बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराई लगायत । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौं । सधैझैं निकै आक्रामक प्रश्न गर्दै आउने संसदीय समितिका सदस्यहरू आइतबारको बैठकमा भने निकै भावुब बने । भावुक बन्नुको कारक थिए नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराई ।

मन्त्री बनेपछि पहिलो पटक संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएका मन्त्री भट्टराई रोए । उनी रोएपछि अन्य सदस्यहरू पनि निकै भावुक बनेका हुन् । मन्त्री भट्टराइलाई सांसदहरुले बधाइ दिइसकेपछि बोल्ने क्रममा उनी भावुक मात्रै बनेन् उनको गला नै अवरुद्ध भयो ।

२०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका थिए । त्यसबेला डाक्टरले नै माया मारिसकेको तर, आफू निको भएर फर्कन सफल भएको बताएका थिए ।

विगतलाई सम्झैदै गर्दा उनी रोएका हुन् । अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको बताउँदा उनको गला अवरुद्ध भएको थियो । त्यसअघि बोलेका पूर्व प्रधानमन्त्री नेपालले भट्टराईलाई पर्यटन मन्त्रालयले गर्नुपने कामबारे सुझाव दिएका थिए ।

पूर्वप्रधानमन्त्रीका सुझाव आफ्ना लागि मार्गदर्शन हुने भट्टराईको भनाई छ । भट्टराईको गला अवरुद्ध भएपछि नेता नेपाल पनि भावुक बनेका थिए । मन्त्री भट्टराईले युरोपियन युनियनको कालो सुचीबाट नेपाललाई पार गराउन समितिको सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।