किन मनाउन थालियो नागपञ्चमी पर्व ?
  • दिपक दर्शन

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व वैदिक सनातन धर्मावलम्बीले आजविशेष श्रद्धापूर्वक मनाउँदै छन् । आज देशैभर घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ । वराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्लपञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ ।

नागपञ्चमीका दिनमा नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट एवं शंखनागको चित्रमादूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी दूध र लावाको नैवैद्य चढाई घरको मूल ढोकामाथि टाँसिन्छ ।

नागको चित्रमा लेखिएको हुन्छ :

अनन्तो वासुकिपद्मो महापद्मश्चतक्षकः । कुलिकःकर्कटः शंखश्चाष्टौ नागाःप्रकीर्तिताः ।।
अगस्त्यश्चपुलस्त्यश्च वैशम्पायनएव च । सुमन्तुर्जै्मिनिश्चैव पञ्चैते बज्रवारकाः ।।
मुने कल्याणमित्रस्य जैमिनेश्चापिकीर्तनात् । विद्युदग्निभयं नास्तिलिखितं गृहमण्डले ।।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको डर हुँदैन भन्ने मान्यता छ । आजैका दिनदेखि वर्षायाम समाप्तभई हिउँदयाम प्रारम्भ भएको मानिन्छ । वैदिक सनातनधर्मका चाडपर्वहरू पनि नागपञ्चमीबाटै सुरु हुन्छन् । पौराणिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाएभने पानीको अभावहुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजागर्ने परम्परा चलिआएको विश्वास छ । घरको जगमुनि बसेका नाग रिसाएर अन्यत्र गए घरको जग नै भत्कन्छ भन्ने जनविश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिइँदै आइएको छ ।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै चलिआएको छ । शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेषनागको शय्यामा फणाको छाता ओढी शयनगर्ने भएकाले पनि नागलाई पुजिएको हो । असार र साउनमा रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा गरेको भन्ने लोककथन पनि छ । नागपञ्चमीका अवसरमा काठमाडौं नक्सालको नागपोखरी, ललितपुरको धापाखेल, भक्तपुरको सिद्धपोखरी एवं काभ्रेको पनौतीसहित देशभरका नागपोखरी तथा मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किसिमका किंवदन्ती प्रचलित छन् । ती मध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ :–एक जना किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै सन्तान मरेको देखेर क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकाले किसानको घरमा गएर किसानकी श्रीमती एवं दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बाँच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेलापारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय–विनय गरी मलाई नमार्नुहोस्, म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिदिइन् । मृत्युको मुखबाट बच्न सकेकोमा प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग, भनेपछि किसानकी छोरीले आफ्ना मातापिता र भाइलाई जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानको परिवारलाई बचाइदिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको हो ।

त्यस्तै अर्को भनाइ अनुसार एकपटक गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र बर्ष सम्म तपस्या गरे । उनले यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएर ल्याइयो । आफ्ना गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा उल्लेख छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायत जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने नियम बसालेको कुरा अध्येताहरू बताउँछन् । यसरी प्रकृतिपूजक एवं सनातनधर्मीहरूको पर्व नागपञ्चमीले मानवजातिलाई प्रकृतिको नजिक रहनुपर्छ भन्ने पाठ सिकाएको पाइन्छ ।