उपत्यकामा कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा बढाउने तयारी

उपत्यकामा कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा बढाउने तयारी


काठमाडौं ।

उपत्यकामा समूदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ ।

आज नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो । छलफलमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी रहेका थिए ।

‘पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । यो प्रक्रिया निरन्तर रहने हो भने समुदायस्तरमै पुग्ने खतरा हुन्छ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष शाक्यले भने, ‘संघीय राजधानी समेत रहेको र अत्यन्त घनावस्ती युक्त उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ ।

त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि उपत्यकाका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने भएका छौँ ।’ मेयर शाक्यले त्यसका लागि व्यापक रुपमा कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङको तयारी गरेको जानकारी दिए । ‘कोरोना संक्रमण बढ्दै गएपछि केही दिनदेखि उपत्यकामा निषेधाज्ञा जारी भएको छ । हामी निषेधाज्ञाको अवधीलाई पूर्ण सदुपयोग ‘हटस्पट’ मा व्यापक रुपमा कन्ट्र्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णयमा पुगेका छौँ । परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका सबैको उपचारको व्यवस्था गर्ने गरी अघि बढ्छौँ।

नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले तालिका नै बनाएर कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताए । ‘उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङ गर्ने हाम्रो योजना छ’ श्रेष्ठले भने , ‘भोलि नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्र्याक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय गरी तालिका नै बनाएर अघि बढ्छौँ ।’

उनले पनि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको भन्दै कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङ दुबैलाई निरन्तर अघि बढाउने जानकारी दिए । ‘निषेधाज्ञामा हामीले उपत्यकावासीलाई घरमा बस्नु भनेका छौँ । यो अवधीमा केही पनि प्रयास नगर्ने र उहाँहरु घरमा मात्रै बस्ने हो भने समस्या समाधान नहुने बताएका छन् ।

त्यस्तै उनले उपत्यकाका सबै ‘हटस्पट’मा कन्ट्र्याक्ट ट्रेसिङका आधारमा टेस्टिङलाई अभियानकै रुपमा अघि बढाउने पनि जानकारी दिए ।

फोरमका पदाधिकारीको बैठक अघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेसँग छलफल गरेका थिए ।

छलफलमा उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरुसँग कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङकै विषयमा बढी केन्द्रीत रहेर छलफल भएको बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठले बताए ।

यस अघि बसेको नगरपालिका फोरमको बैठकले उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग माग गरेको थियो । त्यसैगरी बैठकले तेस्रो मूलुकबाट आउन सक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्न पनि संघीय सरकारसँग माग गरेको थियो ।

Logo