ठगी आरोपमा फरार अभियुक्त विमानस्थलको भीआईपी कक्षबाटै भागे

ठगी आरोपमा फरार अभियुक्त विमानस्थलको भीआईपी कक्षबाटै भागे


ठगी आरोपमा फरार एक अभियुक्त संयुक्त अरब इमिरेट्स (दुबई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरी भीआईपी कक्षबाटै भागेका छन् । 

ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार भीआईपी कक्षबाट भागेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, उनीसँगै भीआईपी कक्षमा छिरेका थिए । उनी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँगै दुबईबाट पुगेका थिए । अन्सारीले भीआईपी कक्ष प्रयोग गरे ।

उनीसँगै आएका आलम पनि भीआईपी कक्षतर्फ लागे । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्‍यो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका हुन् । अन्सारीसँगै राहदानी जाँच नगराई आलम भीआईपी कक्षमा प्रवेश गरेका थिए । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले आलम भीआईपी कक्षबाट भागेर सम्पर्कविहीन भएको पुष्टि गरे ।

आलमको खोजी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको छ । आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर उक्त रकम लिएका थिए । तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले २०७८ चैत १० मा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राखेर निगरानी गर्न आग्रह गरेको थियो 

त्यसपछि गत चैत २७ मा काठमाडौं जिल्ला अदालतले आलमसहितका आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसबारे निगरानी भइरहेका बेला शुक्रबार आलम दुबईबाट आएर विमानस्थलबाटै भागेका हुन् ।
कान्तिपुरबाट

Logo