हुम्लामा यसवर्ष ४९ हजार क्वीन्टल खाद्यान्न माग

सिमकोट,
सडक यातायातले नजोडिएकोे हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि जिल्लाभरिका डिपो, विक्री केन्द्र र शाखामा ४९ हजार क्वीन्टल खाद्यान्न माग गरिएको छ । जिल्लाको खाद्यान्न मागलाई ध्यान दिंदै जिल्ला खाद्य व्यवस्थापन समितिले सबैतिर बुझेर संस्थानको प्रधान कार्यालयलाई यति धेरै खाद्यान्न माग गरेको हो ।

यसअघि संस्थानले ढुवानी अनुदानमा पठाउने खाद्यान्न जिल्लामा अपुग हुने भएपछि अहिले सबैतिरको अध्ययन र सबैसँगको छलफलपछि वास्तविक आवश्यक खाद्यान्न कोटा पहिचान गरेर संस्थानको प्रधान कार्यालयलाई माग गरिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो । जिल्लाको माग अनुसार खाद्यान्न कोटा संस्थानले निर्धारण गरे जिल्लामा खाद्यान्न समस्या नहुने उहाँको भनाइ छ ।

समितिको बैठकले निक्कै छलफलपछि सिमकोट शाखाका लागि चालु आर्थिक वर्षमा ३० हजार क्वीन्टल, अदानचुली गाउँपालिकाको श्रीनगर डिपो र सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपोको लागि पाँच/पाँच हजार क्वीन्टल, चंखेली गाउँपालिकाको देउली र ताँजकोट गाउँपालिकाको छप्रेला डिपोको लागि चार/चार हजार क्वीन्टल खाद्यान्न माग गरिएको संस्थानको सिमकोट शाखाका नायब सुब्बा सुरेन्द्र पोखरेलले बताउनुभयो ।

त्यसैगरी नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रका लागि पाँच हजार र भर्खरै स्थापना भएको खार्पुनाथ गाउँपालिकाको याङ्चु बिक्री केन्द्रका लागि चार हजार क्वीन्टल खाद्यान्न जिल्लाबाट माग गरिएको छ ।
गोरखापत्रबाट