सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। उदयपुर, दाङ, कैलाली र नवलपरासी (पश्चिम)मा  भएको दुर्घटनामा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-१२ हरनैयास्थित सडकमा लु ४० प ३७९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका-१० बस्ने ३५ वर्षीय अम्मरजित चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

 

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुनस्थित सडकमा स ५ प ३६३७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीया मनमाया श्रेष्ठको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रियुगा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उता दाङको गढवा गाउँपालिका-५ बाँकीचोकस्थित सडकमा लु ५ प ९७११ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही गाउँपालिका सोनपुरुवा बस्ने ६० वर्षीय गंगाराम यादवको लमही अस्पताल दाङमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ।

त्यस्तै कैलालीको गौरीगंगा नगरपालिका-८ लिक्मास्थित भित्री सडकमा सोमबार साँझ से ४ प ७६११ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका शिविर बस्ने ४० वर्षीय धिमु चौधरीको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा चार जनाको मृत्यु