निजामती कर्मचारीहरुको सामूहिक राजीनामा स्वीकृत हुने
File Photo

अब निजामती कर्मचारीहरुको सामूहिक राजीनामा स्वीकृत हुने भएको छ ।

संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा भएको संघीय निजामती सेवाको गठन, संचालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलका क्रममा निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा स्वीकार गर्ने व्यवस्था पारित भएको हो । अब विभिन्न कारण देखाएर सामूहिक राजीनामा दिएमा त्यसको औचित्य हेरेर स्वीकृत गर्नसक्ने भन्ने व्यवस्था पारित भएको हो।

विधेयकको दफा १२१ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त व्यवस्था प्रस्ताव गरेको छ । यो व्यवस्थाको नेपाल कम्युनिस्ट पार्टीले समर्थन जनाएको छ भने प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले भने असहमति जनाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सामूहिक राजीनामा स्वीकृत गर्नुपर्ने धारणा राखे ।

सांसद कृष्णगोपाल श्रेष्ठले सामूहिक राजीनामा दिनेलाई एकपटक व्यक्तिगत रूपमा वा सामूहिक सोध्ने र राजीनामा स्वीकार गर्ने व्यवस्था कडाइका साथ राख्नुपर्छ भनेका छन्। मोहम्मद महाथिर र ली क्वान यूले क्रमशः स्वास्थ्य र टेलिकमका कर्मचारीले सरकारलाई राजीनामा दिएर असहयोग गरेपछि स्वीकार गरेको उदाहरण दिँदै श्रेष्ठले मुलुक निर्माणका लागि सामूहिक राजीनामा दिएर सरकारलाई असफल पार्नेहरूलाई हटाउनुपर्ने बताए।

नेकपाका सांसद जनार्दन शर्माले सामूहिक राजीनामा दिने कर्मचारीको राजीनामा स्वीकृत गर्नुपर्ने बताए । सांसद पम्फा भुसालले  कर्मचारी सामूहिक राजीनामाको नाममा धम्क्याउने र राज्य कमजोर हुने अवस्था हुन नदिनका लागि राजीनामा स्वीकारको व्यवस्था गर्नुपर्छ। राज्य निरीह हुन नपरोस् भनेर यो व्यवस्था आएको छ। सांसदहरू झपट रावल, अन्जना विसंखे, रेखा शर्मा, यशोदा सुवेदी, नवराज सिलवाल, विजय सुब्बालगायतका सांसदहरूले समर्थन जनाएका छन् ।

कांग्रेसका सांसद डा. डिला संग्रौलाले कर्मचारीतन्त्र स्थायी सरकार भएकाले उनीहरूको सामूहिक राजीनामा सहजै स्वीकृत गर्न नहुने बताइन् ।