संसद्को कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई एमालेको चेतावनी

संसद्को कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई एमालेको चेतावनी


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ । 

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका हुन् । 

उनले त्यस ढंगले प्रतिनिधिसभा भित्र र्दुइ खाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान पनि राखे । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको मनोनयन हुने दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने भएकाले सोही व्यवस्था मात्रै आफ्नो पार्टीलाई मान्य हुने उनको भनाई थियो । 

प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भनेकोमा आपत्ति जनाए । एमालेले त्यसका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उनको दावी थियो । 

‘एकछिन अनुमान गरौं त । मंसीर ४ गते पछि लौं ५ गते नै कुनै निर्वाचन क्षेत्रको परिणाम आयो । एउटा जितेको सांसद हुन्छ । भर्खरै जनताले मतदान गरेर जितेको सांसद हुन्छ । अर्को एउटा सांसद हुन्छ पाँच वर्ष अघि जितेको । तर, लोगो चाँही उसैसँग हुन्छ । जनताले एउटै निर्वाचन क्षेत्रमा दुईटा सांसद हेर्नुपर्ने अवस्था हुन्छ । यस्तो खालको विरोधाभाष कुरा कसरी परिकल्पना गर्छ यो सरकार । कसरी कानुनमन्त्रीज्यूले यो परिकल्पना गर्नु भयो ? मलाई अचम्म लाग्छ । गठबन्धनमा सायद सल्लाह भएकै होला । किनभने गठबन्धनका दिनहुँ बैठक बसिरहेका छन् ।’ उनले भने, ‘हुनत गठबन्धन बन्ने बेलामा दुईटा कुरा यो संसदमा बहुत जोडदार रुपमा उठेको थियो । एउटा सरकार कस्तो हुन्छ, हामी देखाई दिन्छौं भन्नु भएको थियो । १४ महिना झलझली देखियो । अर्को कुरा पनि भन्नु भएको थियो–कुनै पनि गठबन्धनका र अरु बैठकहरु सरकारी बाहेकका अरु कुनै पनि बैठकहरु बालुवाटारमा हुँदैनन् भन्नु हुन्थ्यो । अहिले दिनैपिच्छे बालुवाटारमा बैठक भईरहेको हामी सुनिरहेका छौं । हुन त उहाँहरुले बोलेको कुरा पु¥याउनु पर्दैन । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला जे आलोचना गर्नु हुन्थ्यो, अहिले खुरुखूर त्यहीँ हुदाखेरी पनि उहाँहरु अहिले त्यो स्विकार गर्न तयार हुनुहुन्न ।’

उनले थपे- ‘अलिकति लज्जाबोध हुनुपर्ने हो जस्तो लाग्छ मलाई त्यसो हुनाले यो कार्यकालको सम्बन्धको सम्बन्धमा कुरा के हो भने मंसीरको ४ गतेको निर्वाचन पछि पनि दुई खाले सांसद खडा गर्न जुन प्रयास गर्नु भो, त्यसले मुलुकमा उत्पन्न गर्ने एउटा उपहास, जनताको बीचमा लज्जाबोध जुन गर्नुपर्ने थियो । अनिवार्य रुपमा सच्याउन पर्छ । र, कानुनमन्त्रीज्यू र अहिलेको गठबन्धन सरकारलाई नेकपा एमालेको तर्फबाट म जोडदार रुपमा भन्न चाहन्छु–नोमिनेशनको अघिल्लो दिन हाम्रो प्रतिनिधिसभाको र प्रदेशसभाको कार्यकाल समाप्त हुनैपर्छ । दुई दिन भएपनि लम्ब्याएर अरु कुनै हर्कत गर्न तपाईहरुले चाहनु भएको छ भने नेकपा एमाले त्यसको विपक्षमा छ । र, हामी अनिवार्य रुपमा त्यसलाई रोक्न चाहन्छौं ।’ 

Logo