ब्राह्मण को हुन् ? ब्राह्मणका प्रकार थाहा छ तपाईंलाई ?

शास्त्रले भन्छ– जसले ब्रह्मलाई जानेको छ, ऊ ब्राह्मण हो ।

प्राचीन समयमा हरेक जाति एवं समाजका व्यक्ति ब्राह्मण बन्न उत्सुक रहन्थे । ब्राह्मण हुने अधिकार आज पनि सबैलाई छ । चाहे ऊ कुनै पनि जाति, देश वा सम्प्रदायको होस्, गायत्री दीक्षा लिएर ब्राह्मण बन्नसक्छ तर ब्राह्मण हुनका लागि केही नियमहरू पालन गर्नुपर्ने हुन्छ ।

यहाँ त्यस ब्राह्मण समाजको कुरा गरिएको छैन जहाँका अधिकतर व्यक्तिले आफ्नो ब्राह्मण कर्म छोडेर अन्य कर्म अपनाएका छन् । हुन त उनीहरू अब ब्राह्मण रहेनन् तर अहिले पनि ब्राह्मण नै कहलाउँछन् ।

श्रुति, स्मृति एवं पुराणहरूमा ८ प्रकारका ब्राह्मणको वर्णन पाइन्छ– मात्र, ब्राह्मण, श्रोत्रिय, अनुचान, भ्रूण, ऋषिकल्प, ऋषि र मुनि । ८ प्रकारका ब्राह्मण श्रुतिमा पहिले बताइएको छ । यसका अतिरिक्त वंश, विद्या एवं सदाचारबाट माथि उठेका ब्राह्मणलाई ‘त्रिशुक्ल’ भनिन्छ । ब्राह्मणलाई धर्मज्ञ, विप्र र द्विज पनि भनिन्छ ।

मात्र : यस्ता ब्राह्मण जो जातिले ब्राह्मण हुन् तर उनीहरू कर्मले ब्राह्मण होइनन् भने तिनलाई मात्र भनिएको छ । ब्राह्मण कुलमा जन्मँदैमा कोही पनि ब्राह्मण हुँदैन । धेरै यस्ता ब्राह्मण ब्राह्मणोचित उपनयन संस्कार एवं वैदिक कर्महरूबाट टाढा छन् तर आफूलाई ब्राह्मण हुँ भन्छन् । यिनमा कतिपय त शिखाहीन र जनैसम्म धारण नगर्ने पनि छन् । उनीहरू शूद्र हुन् । यस्ताहरू थरीथरीका देवीदेवतालाई पुज्दछन् र रात्रिकालीन क्रियाकाण्डमा समेत लिप्त हुन्छन् । ती सबै राक्षसधर्मी पनि हुनसक्छन् ।

ब्राह्मण : ईश्वरवादी, वेदपाठी, ब्रह्मगामी, सरल, एकान्तप्रिय, सत्यवादी एवं बुद्धिले जो दृढ छन्, तिनलाई ब्राह्मण भनिएको छ । थरीथरीका पूजापाठ आदि पौराणिकहरूका कर्म छोडेर जो वेदसम्मत आचरण गर्छन् तिनलाई ब्राह्मण भनिएको छ ।

श्रोत्रिय : स्मृतिअनुसार जो कोही मानिस वेदका कुनै एक शाखालाई कल्प र छ अंगसहित अध्ययन गरेर ब्राह्मणोचित षट् कर्ममा संलग्न रहन्छ, तिनलाई श्रोत्रिय भनिएको छ ।

अनुचान : कुनै पनि व्यक्ति वेद एवं वेदांगहरूको तत्वज्ञ, पापरहित, शुद्ध चित्त, श्रेष्ठ, श्रोत्रिय विद्यार्थीहरूलाई पढाउने तथा विद्वान छन्, तिनलाई अनुचान भनिएको छ ।

भ्रूण : जो अनुचानका समस्त गुणहरूले युक्त भएर पनि केवल यज्ञ र स्वाध्यायमा संलग्न रहन्छन्, यस्ता इन्द्रिय संयम व्यक्तिलाई भ्रूण भनिएको छ ।

ऋषिकल्प : जो कोही मानिस सबै वेद, स्मृति एवं लौकिक विषयहरूको ज्ञान प्राप्त गरेर मन एवं इन्द्रियलाई वशमा राखी आश्रममा सदा ब्रह्मचर्य पालन गरिबस्छन्, तिनलाई ऋषिकल्प भनिएको छ ।

ऋषि : यस्ता व्यक्ति जो सम्यक आहार, विहार आदि गरेर ब्रह्मचारी रही संशय एवं सन्देहमुक्त छन् र जसको श्राप र अनुग्रह फलित हुन्छन् त्यस्ता सत्यप्रतिज्ञ एवं समर्थ व्यक्तिलाई ऋषि भनिएको छ ।

मुनि : जो व्यक्ति निवृत्ति मार्गमा स्थित, सम्पूर्ण तत्वका ज्ञाता, ध्याननिष्ठ, जितेन्द्रिय तथा सिद्ध छन्, यस्ता ब्राह्मणलाई मुनि भनिएको छ ।
सबभन्दा पहिले ब्राह्मण शब्दको प्रयोग अथर्ववेदका उच्चारणकर्ता ऋषिहरूका लागि गरिएको थियो । पछि प्रत्येक वेदलाई बुझ्नका लागि ग्रन्थ लेखिए र त्यस्ता ग्रन्थलाई पनि ब्राह्मण साहित्य भनियो । त्यति बेला ब्राह्मणको कुनै जाति वा समाज थिएन ।

अहिले नेपालमा पूर्वीया, कुमाईं, मैथिल, जैसीजस्ता ब्राह्मण छन् । यिनमा पनि अनेकौं उपभेद पाइन्छन् । यिनीहरूका थर पनि विभिन्न किसिमले बनेका छन् । विशेषगरी वासस्थान, पदवी, सम्मान, पेसा, कार्य, गोत्रप्रवर्तक प्रसिद्ध ऋषि, विद्या आदिका आधारमा थर बनेका पाइन्छन् ।

वर्तमानमा सबैजसो ‘मात्र’नामक ब्राह्मण छन् । जो स्वकर्महीन एवं जन्मकै आधारमा ब्राह्मण कहलाएका छन् । विष नभएका सर्पजस्तै त्यस्ता ब्राह्मणहरूमा कुनै पनि ब्राह्मणोचित गुण पाइन्न । यद्यपि उनीहरू आफूलाई ब्राह्मण भनाउनुमा गर्व गरिरहेका छन् ।