साफ च्याम्पियनसिपमा नेपालको शानदार विजयी सुरुवात

साफ च्याम्पियनसिपमा नेपालको शानदार विजयी सुरुवात


नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप २०२२ मा शानदार विजयी सुरुवात गरेको छ । मंगलबार दशरथ रंगाशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४-० को जित जिकालेको हो । 

नेपालको जितमा फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत चम्किँए । उनीहरुले समान २/२ गोल गरे । पहिलो हाफमा एक गोल भएको थियो भने दोस्रो हाफमा नेपालले ३ गोल थप्न सफल भयो । 

सावित्राले खेलको १२औँ मिनेटमा गोल गर्दै  नेपाललाई  सुरुवाती अग्रता दिलाएकी थिइन् । अमिषा कार्कीको प्रहार भुटानकी गोलरक्षक संगीता मोङ्गरले वान टचमा समाउन नसकेपछि पाएको रिबाउन्डलाई उनले उत्कृष्ट गोल गरेकी थिइन् । त्यसपछि खेलको ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । 

त्यसपछि खेलको ७३ औँ मिनेटमा अनिताले उत्कृष्ट गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयाे। त्यस्तै, ८३ औँ मिनेटमा उनको व्यक्तिगत दोस्रो गोलमा नेपालले ४-० को शानदार जित निकाल्यो ।  

 नेपालले अब भदौ २७ गते श्रीलंकाको सामना गर्नेछ ।

Logo