मन्त्री भट्टराईको पहिलो निसानामा पर्‍यो नेपाल एयरलायन्स (भिडियोमा)

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरेका छन् । मन्त्री भट्टराईले देश भित्रै पाईलटहरु उत्पादनगर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना आफूले तय गरेको बताएका हुन् ।

बुधबार आफ्नै मन्त्रालयमा संचारकर्मीहरुमाझ उनले ५० लाख भन्दा बढी खर्च गरेर पाईलट पढ्न विदेश जानुपर्ने अवस्था रहेको स्मरण गराउँदै सो भन्दाकम खर्चमै देश भित्रै पाईलट अध्ययनको व्यवस्था गर्न पनि सो विद्यालय स्थापना गर्ने सोच बनाउनु परेको बताए । यसैबीच नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन गरेका छन् ।

निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशिल घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्य दल’ गठन गरेका हुन् ।

समितिका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।