ओली नहुँदा दाहाल सक्रिय

काठमाडौं,

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन् । दाहालले एकीकरण प्रक्रिया लगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । दाहालले दिन दिनयता नेताहरूलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन् ।

‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ । पार्टी नेताहरूसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘छलफलका लागि आवश्यक ठानिएका सचिवालय र स्थायी समितिका सदस्यहरूलाई बोलाएर कुराकानी गरिरहनु भएको छ ।’

दाहालले बुधबार वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग झन्डै तीन घन्टा खुमलटारमा छलफल गरे । दुई नेताबीच कार्यविभाजन, एकता प्रक्रिया, राजनीतिक परिदृश्य र पार्टी कार्यक्रममा केन्द्रित रहेर छलफल भएको स्रोतको भनाइ छ। दाहालसँग भेटेका खनालले पनि केन्द्रीय नेताहरूको कार्यविभाजन र बाँकी एकता प्रक्रियामा केन्द्रित रहेर छलफल भएको बताए ।

‘एकता प्रक्रिया टुंग्याउन अब ढिला गर्नु हुँदैन । त्यसलाई के कसरी सचिवालय बैठकबाटै टुंग्याउने भन्नेमा छलफल भयो,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘एकता प्रक्रिया टुंगो लगाएर देशव्यापी राष्ट्रिय अभियान चलाउनुपर्छ भन्नेमा उहाँ देखिनु हुन्छ । मेरो पनि त्यही चिन्ता छ ।’

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्के लगत्तै २८ साउनमा नेकपा सचिवालय बैठक बस्दैछ । साउन १३ मा उक्त बैठक बस्ने मिति तय गरेर दाहाल र ओली विदेश दौडाहामा लागेका थिए । नेकपामा केन्द्रीय नेताहरूको विभागीय जिम्मेवारी लगायतका एकतासँग सम्बन्धित कार्य टुंग्याउन बाँकी छ ।

दाहालले सोमबार अर्का वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए। उनले प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरिसकेका छन्। सचिवालयमा रहेका नेताहरू कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग भने दाहालले भेट गरेका छैनन् ।
अन्नपूर्णबाट