शिवहरि लक्का जवान बनाउँदै

काठमाडौं,

लोकप्रिय अभिनेता तथा टेलिफिल्म निर्देशक शिवहरि पौडेलले अब ठूलो पर्दाको फिल्म निर्देशन गर्ने भएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनको निर्देशनमा बन्ने फिल्म लक्का जवान निर्माणको घोषणा गरिएको हो।

कार्यक्रममा ख्यातिप्राप्त हास्य जोडी मह जोडीले लक्का जवान लेखिएको छाता खोलेर सो फिल्म निर्माणको शुुरुआत गरेका थिए । फिल्ममा कथा, पटकथा र संवाद पनि शिवहरिकै रहनेछ । कार्यक्रममा फिल्मका कार्यकारी निर्माता किरण केसीले दाल भात तरकारीको काम भइरहँदा अभिनेता दिलीप रायमाझीले फिल्म निर्माणको प्रस्ताव राखे बमोजिम लक्का जवान निर्माण गर्न लागेको बताए । ‘दिलीप भाइले अमेरिकाबाट फर्केपछि मिलेर एउटा फिल्म बनाउँ, निर्देशन चाहिं शिवहरि पौडेल दाइ र तपाईंले गर्नपर्छ भन्नुभएको थियो ।

दाल भात तरकारी सकेर अर्को फिल्म बनाउँला भन्ने सल्लाह भएको थियो त्यही अनुरूप नै यो फिल्म निर्माण गर्न लागिएको हो’, केसीले भने– ‘शिवहरिको विभिन्न टेलिफिल्म, नाटक, सडक नाटक, फिल्म आदिमा खेलेको र निर्देशन गरेको अनुभव छ।

फिल्म निर्देशन गर्न अफर गर्दा सहर्ष स्वीकार्दै करिब ८ महिना मेहनत गरेर कथा, पटकथा तथा संवाद लेख्नु भएको छ।’ शिवहरि पौडेलले अरूको फिल्ममा काम गर्दा जति सजिलो हुन्छ, आफैंले निर्देशनको काम अघि बढाउँदा निकै कठिन अनुभव गरेको बताए । ‘हुन त १२ वर्षसम्म टेलिफिल्म जिरे खुर्सानी निर्देशन गरेको अनुभव छ । तर, टेलिफिल्मभन्दा अलि फरक भएकाले फिल्म निर्देशनको तयारी गर्दै गर्दा बेग्लै खालको छटपटी भइरहेको छ’, मह जोडीका साथ आफ्नो कलायात्रा सघाउनेहरूलाई सम्झँदै पौडेलले भने– ‘हास्यव्यंग्य फिल्मले सफलता पाइरहँदा हामीमाथि बेला–बेलामा प्रहार पनि हुने गरेको छ।
नेपाल समाचारपत्रबाट