दानवीर कर्ण : जसको महानता अमर छ !

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्–
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ ।
देवकोटाको यो भनाइ महाभारतका एक प्रसिद्ध पात्र कर्णको जीवनसँग ठ्याक्कै मेल खान्छ ।

भगवान कृष्णले कर्णलाई सबैभन्दा ठूलो दानी भनेका छन् । अर्जुनले एकपटक कृष्णसँग सोधे– ‘हे कृष्ण ! सबैजना किन कर्णको प्रशंसा गर्छन् ?’ यो सुनेपछि कृष्णले दुईवटा पहाडलाई सुन बनाइदिए र अर्जुनलाई भने कि हे अर्जुन यो सुन गाउँलेहरूलाई बाँडिदेऊ ।

अर्जुनले सबै गाउँलेहरूलाई बोलाएर ल्याए अनि सुनको पहाड काट्दै उनीहरूलाई बाँड्न थाले । केही बेरपछि थकाइ लागेकाले अर्जुन थचक्क बसे । यसपछि कृष्णले कर्णलाई बोलाए र अर्जुनलाई भनेजस्तै गरी सबै सुन गाउँलेहरूलाई बाँड्न लगाए ।

कर्णले कुनै सोचविचर नगरी तुरुन्तै गाउँलेहरूसँग भने–‘गाउँलेहरू हो ! यो सबै सुन तपाईंहरूकै हो । यसलाई तपाईंहरू आपसमा बाँडेर लिनुहोस् ।’

यी सबै भएपछि कृष्णले अर्जुनलाई भने कि हे अर्जुन, कर्णले कहिल्यै पनि दान दिनुअघि आफ्नो हितका विषयमा सोच्दैन । तसर्थ कर्णलाई सबैभन्दा ठूलो दानवीर भनिन्छ ।

यस्तै केही अन्य प्रसंग

प्रसंग १

कृष्णलाई थाहा थियो, जबसम्म कर्णसँग जन्मँदै आएको कवच र कुण्डल रहन्छ तबसम्म उनलाई कसैले मार्न सक्दैन । यस्तो अवस्थामा अर्जुनको सुरक्षाको प्रत्याभूति दिन सकिँदैनथ्यो । अर्कातिर देवराज इन्द्रलाई पनि उस्तै चिन्ता थियो किनभने अर्जुन उनका छोरा थिए । अनि त के चाहियो र, कृष्ण र इन्द्र मिलेर कर्णलाई पछार्ने योजना बनाए । इन्द्र ब्राह्मणको भेष धारण गरेर कर्णकहाँ गए । जसले आएर जे मागे पनि दिन्छु भन्ने व्रतमा दृढ कर्णसँग दिव्य कवच र कुण्डल मागे ।

कर्ण चकित बने, माग्ने व्यक्ति ब्राह्मण होइनन् भन्ने थाहा पनि पाए । थाहा पाएर पनि कत्ति विलम्ब नगरी आफ्नो कवच र कुण्डल जुन शरीरसँग टाँसिएर रहेको थियो, त्यसलाई काटेर निकाले र ब्राह्मण भेषधारी इन्द्रको हातमा राखिदिए । इन्द्र त्यहाँबाट हडबडाउँदै आफ्नो रथसम्म दौडेर पुगे अनि रथमा चढेर गए ।

केही पर मात्र के पुगेका थिए, इन्द्रको रथ पृथ्वीमा धसियो । त्यतिबेला आकाशवाणी भयो– ‘हे इन्द्र ! तिमीले धोर पाप गर्यौ । आफ्नो पुत्र अर्जुनको प्राण बचाउन छलपूर्वक कर्णको प्राणलाई संकटमा पा¥यौ । यस्तो जघन्य अपराधका कारण अब यो रथ यहीँ धसिन्छ र रथसँगै तिमी पनि यहीँ धसिन्छौ ।’ आकाशवाणी सुनेर भयभीत बनेका इन्द्र तुरुन्त फर्केर कर्णकहाँ पुगे र उनलाई आफ्नो अमोघ अस्त्र एकपटकका लागि प्रयोग गर्ने शर्तमा दिए । उक्त अस्त्र कुनै पनि हालतमा विफल हुँदैनथ्यो । त्यसले जोकसैमाथि प्रहार गरे पनि उसको मृत्यु थियो । यति भएपछि इन्द्रको रथ चल्न समर्थ भयो ।

प्रसंग २

एकपटक कुन्ती कर्ण भएठाउँ गइन् र कर्ण आफ्नो छोरो भएको बताउँदै पाण्डवको पक्षमा लाग्न आग्रह गरिन् । कुन्ती आफ्नी आमा हुन् भन्ने कर्णले केही समयअघि नै थाहा पाइसकेका थिए । उनले आफूले दुर्योधनमाथि कहिल्यै विश्वासघात नगर्ने कुरा प्रस्ट रूपमा बताए ।

कुन्तीले कर्णसँग सोधिन्– के तिमी आफ्नै भाइहरूलाई मार्छौ ? यस्तो अवस्थामा कर्ण द्विविधामा परे । उनले कुन्तीलाई वचन दिए–‘माते ! तपाईलाई थाहा छ कि कर्णले माग्न आउनेलाई कहिल्यै पनि रित्तो हात फर्काउँदैन । यसकारण म तपाईंलाई वचन दिन्छु कि अर्जुनबाहेक अरू चार भाइमाथि कहिल्यै घातक प्रहार गर्दिन, अरू चार भाइको ज्यान लिन्न ।’

प्रसंग ३

एक समयको कुरा जब इन्द्रप्रस्थमा महाराज युधिष्ठिर राज्य गर्थे । उनी माग्न आउनेहरूलाई पर्याप्त दान दिएर पठाउँथे । यसबाट पाण्डवहरूमा अभिमान बढ्न थालेको थियो । भीमसेन र अर्जुनले कृष्णका अगाडि युधिष्ठिरको प्रशंसा गर्दै भने कि उनी कति ठूला दानी छन् । कृष्णले उनीहरूको कुरा बीचमै काटेर भने, मैले दानवीर कर्णजस्तो दानी अर्को कोही देखेको छैन । यो कुरा पाण्डवहरूलाई मन नपरेपछि कृष्णले भने– समय आएपछि म यो कुरा सिद्ध गरिदिनेछु ।

उक्त घटना भएको केही दिनपछि नै एकजना माग्ने युधिष्ठिरको दरबारमा आएर भन्न थाल्यो, महाराज म तपाईंकै राज्यमा बस्ने एक ब्राह्मण हुँ, र मेरो व्रत के छ भने म चन्दनको समिधामा हवन नगरीकन कुनै पनि भोजन तथा जल ग्रहण गर्दिन । यसैका कारण मैले खान नपाएको थुप्रै दिन भयो । हजुरसँग छ भने कृपा गरेर मलाई चन्दनको दाउरा उपलब्ध गराउनुहोस् । अन्यथा म भोकप्यासले व्याकुल भएर मर्नेछु ।

युधिष्ठिरले तुरुन्त कर्मचारीलाई बोलाएर दाउराको भण्डारबाट चन्दनको दाउरा उपलब्ध गराउने निर्देशन दिए । उक्त समयमा लामो समयसम्म वर्षा भएका कारण चन्दनको ओभानो दाउरा थिएन । कि त पूरै भिजेका कि त भने काँचा दाउरा मात्र थिए । कर्मचारीले सोहीबमोजिमको जानकारी दिएपछि युधिष्ठिरले भाइहरूलाई चन्दनको दाउरा बन्दोवस्त गर्ने आदेश दिए । तर लामै दौडधूप गर्दा पनि चन्दनको दाउरा उपलब्ध हुन सकेन ।

यस्तो स्थितिमा हतास देखिएका ब्राह्मणलाई कृष्णले भने, मेरो अनुमानमा एक ठाउँमा तपाईंलाई चाहिने दाउराको प्रबन्ध हुनसक्छ । तपाईं मसँग आउनुहोस् ।

ब्राह्मण खुसी भए । कृष्णले आफू पनि ब्राह्मणको भेष धारण गरेर भीमसेन र अर्जुनलाई पनि त्यसै गर्न लगाई माग्न आउने ब्राह्मणसहित चारैजना कर्णको दरबारमा गए । सबै ब्राह्मणका भेषमा थिए, कर्णले कसैलाई चिनेनन् । माग्ने ब्राह्मणले कर्णसँग पनि आफ्नो उही पुरानै कुरा बताए । कर्णले पनि आफ्नो कर्मचारीलाई बोलाएर चन्दनको सुकेको दाउरा ल्याउन अराए । संयोगले त्यहाँ पनि अवस्था युधिष्ठिरकहाँ जस्तै थियो । सुकेको दाउरा थिएन ।

यस्तो अवस्थामा ब्राह्मणको मुखमा निराशा छाउनु स्वाभाविकै थियो । भीमसेन र अर्जुनले पनि कृष्णको मुखतिर हेर्न लागे । त्यतिबेला कर्णले, ‘हे अतिथि ब्राह्मण ! तपाई निराश नहुनुहोस्, मसँग एउटा उपाय छ ।’ यति भनिसकेपछि कर्णले आफ्नो दरबारको झ्यालढोकामा हालिएको चन्दनको काठ काटेर थुप्रो लगाए र ब्राह्मणलाई भने, तपाईंलाई कति चाहिन्छ लैजानुहोस् । तपाईंले भन्नुभएको ठाउँसम्म लगिदिने प्रबन्ध पनि म मिलाउँछु ।

फर्केर आइसकेपछि कृष्णले पाण्डवहरूलाई भने– साधारण अवस्थामा दान दिनुमा केही त्यस्तो विशेषता छैन, असाधारण परिस्थितिमा कसैका लागि आफ्नो सर्वस्व सुम्पनु वा त्याग गर्नु नै सही अर्थमा दान हो । अन्यथा हे युधिष्ठिर ! चन्दनको काठको झ्यालढोका त तपाईंको महलमा पनि त थियो ! किन दिन सक्नुभएन ?

प्रसंग ४

किंवदन्ती के छ भने एकपटक कर्णले आफ्नो यौवन नै दान दिएका थिए । एक पटक दुर्योधनको महलमा स्वयं नारायण ब्राह्मणको भेष धारण गरेर आई भिक्षा माग्न थाले ।

दुर्योधनले सुन हीरा आदि दिएर ब्राह्मणको सम्मान गर्न खोज्दा त्यसलाई अस्वीकार गर्दै भने, ‘राजन ! मलाई यी कुनै वस्तु चाहिन्न । म आफ्नो वृद्धावस्थाबाट दुःखी छु । म चार धामको यात्रा गर्न चाहन्छु । यसो गर्नका लागि युवावस्थाको स्वस्थ शरीर आवश्यक पर्छ अतः हे राजन, मलाई दिन चाहन्छौ भने आफ्नो यौवनको भिक्षा देऊ ।’

दुर्योधनले भने, ‘भगवन, मेरो यौवनमा मेरी धर्मपत्नी भानुमतीको अधिकार छ, एकपटक उनीसँग सोधेर आऊँ कि ?’
ब्राह्मणले टाउको हल्लाए । दुर्योधन भित्रबाट शिर निहुराएर फर्किएको देखेपछि ब्राह्मणले त्यसको आशय बुझिहाले र महादानी कर्णकहाँ गएर सोही कुरा बताए ।

कर्णले पनि ब्राह्मणलाई केही बेर प्रतीक्षा गर्न अनुरोध गरी पत्नीकहाँ गएर सोधे । कर्णकी पत्नीले सहज भावमा उत्तर दिइन्– ‘दानवीरले दान दिनका लागि कसैसँग सोध्न के आवश्यक ? तपाई ती ब्राह्मणलाई निःसंकोच यौवन दान दिन सक्नुहुन्छ ।’ कर्ण खुसीखुसी फर्के र अलिकति पनि ढिलो नगरी यौवन दानको घोषणा गरिदिए ।

प्रसंग ५

जब कर्ण आखिरी सास लिँदै थिए । त्यतिबेला कृष्णले उनको परीक्षा लिने विचार गरे । कृष्ण गरिब ब्राह्मण बनेर मृत्युको मुखमा पुगेका कर्णसामु पुगे र भन्न थाले, मैले तिम्रो दानशीलताको चर्चा सुनेको छु, मलाई अहिल्यै केही उपहार चाहियो । कर्णले भने, तपाई जे चाहनुहुन्छ, माग्नुहोस् । ब्राह्मणले सुन मागे ।

कर्णले भने कि मेरो दाँतमा सुन छ, तपाई मेरो दाँत भाँचेर त्यो सुन लिन सक्नुहुन्छ ।

ब्राह्मणले भने, म यतिसम्म तुच्छ पनि छैन कि मर्न लागेका तिम्रो दाँत भाँचूँ । यो सुनेपछि कर्णले नजिकैको एउटा ढुंगा उठाएर आफ्नो दाँत भाँचेर त्यसमा भएको सुन निकाली ब्राह्णलाई दिन चाहे । ब्राह्मणले रगतमा लतपतिएको सुन लिन चाहेनन् अनि कर्णले एउटा बाण हातमा लिई आकाशतर्फ चलाए । यसबाट पानी पर्न थाल्यो र रगत पखालियो ।

यी कुराबाट के प्रमाणित हुन्छ भने कर्ण महादानी थिए । आजसम्म पनि उनको दानशीलताको चर्चा हुने गर्छ । आफूलाई नै मिटाएर पनि अरूलाई दिनसक्ने महापुरुष थिए कर्ण । युधिष्ठिरले राजसूय यज्ञ गर्दा दान दिने कार्यको जिम्मा कर्णलाई दिएका थिए भन्ने कुरा महाभारतमा पाइन्छ ।