जिल्ला अस्पताल लमजुङमा स्थापनाको ४६ वर्षपछि डायलसिस सेवा

जिल्ला अस्पताल लमजुङमा स्थापनाको ४६ वर्षपछि डायलसिस सेवा


जिल्ला अस्पताल लमजुङबाट स्थापना भएको ४६ वर्षपछि डायलसिस सेवा सुरु गरीएको छ । दुवै मिर्गौला फेल भएर डायलसिस गर्दै आएका बिरामीले बेंसीसहरस्थित जिल्ला अस्पतालबाट सेवा पाउन थालेका छन् । अस्पतालले केही दिन अघिबाट मिर्गौलाको डायलसिस सेवा सुरु गरेको छ ।

२०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल २०५८ मा समुदायलाई हस्तान्तरणपछि सरकारको पब्लिक प्राइभेट पार्टनरसिप नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) र लमजुङे नागरिकको प्रतिनिधित्व गर्दै लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौताअनुसार सुरुमा ५ वर्ष सञ्चालन गरिएको थियो । त्यसपछि एचडीएसले मात्रै सरकारसँग सम्झौता गरेर अस्पताल सञ्चालन गर्दै आएको छ ।

गण्डकी प्रदेश सरकार र एचडीसीएसबीच ५ वर्षको व्यवस्थापन सम्झौता गरेर एचडीसीएसले सञ्चालन गरिरहेको उक्त अस्पताल सरकारलाई बुझाउन प्रदेश सरकारले ताकेता गरेको छ । डायलसिसका लागि ४ जना स्टाफ नर्सले तालिम लिएर आएका छन । एक जना विदेशी नागरिक मिर्गौला रोग विशेषज्ञ डा. एमिल बिटी, जनरल सर्जन डा. सुवास मगर, इन्टरनल मेडिसिन डा. अञ्जु गुरुङलगायतले निगरानी गरिरहेका छन । लमजुङमा हेमो डायलसिस सेवा सुरु भएको हो ।

दुवै मिर्गौला फेल भएका व्यक्तिले १ सातामा २ देखि ३ पटकसम्म डायलसिस गर्नुपर्छ । मधुमेह, उच्च रक्तचाप, फोक्सोको संक्रमणलगायत समस्याका कारण मिर्गौला फेल हुन्छ । मिर्गौलाको आन्तरिक कारणले पनि फेल हुन्छ । प्रत्यारोपण गर्न नसक्ने अवस्थामा र नगरिसकेको अवस्थामा गर्ने भनेको डायलसिस हो । 

अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार इमर्जेन्सी सेवाका लागि कोभिडकालमा निर्माण गरिएको प्रिफ्याबको भवनमा अहिले डायलसिस सेवा सुरु गरिएको छ । भवनका लागि गण्डकी प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

‘प्रदेश सरकारमार्फत ७ वटा मेसिन प्राप्त भएकोमा ६ वटा जडान गरिएको छ । उनका अनुसार लमजुङका मात्रै नभएर अब छिमेकी जिल्ला मनाङ, तनहुँ, गोरखालगायतका जिल्लाले पनि सेवा पाउनेछन । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुसार डायलसिसका ३ वटा मेसिन स्वास्थ्य कार्यालयमार्फत खरिद गरेको थियो ।

आवश्यक सामग्रीसहित यसका लागि ५० लाख रुपैयाँ बजेट आएको थियो । ४ वटा मेसिन भने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको उनले बताए । लमजुङमा हाल बाहिरी जिल्लामा डायलसिस गरिरहेका बिरामीको संख्या ६४ जना छन् । 

Logo