दसैंमा सार्वजनिक यातायातलाई देशभर रुट पर्मिट खुला

दसैंमा सार्वजनिक यातायातलाई देशभर रुट पर्मिट खुला


दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला गरेको छ । 

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । असोज १ देखि सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला हुँदैछ ।

घटस्थापनाको दिन अर्थात् असोज १० गतेदेखि पूर्णिमाका दिन अर्थात् २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट जरुरत पर्ने छैन । 

यद्यपि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहनेछ ।

त्यस्तै असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानीबाहेकका ट्रेलर तथा ढुवानीका साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । यातायात व्यवसायीले कोभिड १९ को जोखिम यथावत रहेकाले दसैंका यात्रुलाई मास्कको प्रयोग गराउनुपर्नेछ ।

Logo