स्वस्थ रहने सूत्र : संयमित जीवनशैली

हरेक मानिस स्वस्थ जीवन बाँच्न चाहन्छ । समस्त भोग भोग्न चाहन्छ अनि यसका लागि सदैव तन्दुरुस्त एवं जवान रहने भित्री चाहना सँगाल्छ । मुखले बाहिर जेसुकै भने पनि हरेक मानिस समस्त रोग, शोक एवं कष्टबाट टाढा हुन चाहन्छ । अस्पताल धाउनुपर्ने, औषधी खानुपर्ने, शल्यक्रिया गर्नुपर्ने, उपचार गर्नुपर्नेजस्ता यावत् झन्झटबाट मुक्त रहन चाहन्छ ।

आशय के भने हरेक मानिस बाधारहित खुसीको जीवन बाँच्न चाहन्छ । यसरी जीवन बाँच्ने निर्विकल्प माध्यम शरीर नै हो । यस हिसाबले मानसिक एवं शारीरिक रूपमा स्वस्थ रहन चाहनु नौलो कुरा होइन । यद्यपि सबैले यस्तो जीवन पाएका हुँदैनन् । चाहेजस्तो नहुनुका पछाडि के छन् त कारण ? अनि चाहेजस्तो स्वस्थ जीवन कसरी बिताउन सकिन्छ त ? यसका लागि केकस्ता उपाय अवलम्बन गर्ने त ? यी र यस्ता प्रश्नको संक्षिप्त उत्तर खोज्ने चेष्टा यहाँ गरिएको छ ।

कसरी रहने स्वस्थ ?

आयुर्वेदले स्वस्थ रहने तीनवटा आधारभूत सूत्र दिएको छ– हितभुक्, मितभुक् र ऋतभुक् । अर्थात् हितकारी भोजन खाने, थोरै खाने, नियमपूर्वक खाने ।

यहाँ त्यसै आधारमा तीनवटा सूत्र बताइएको छ– उचित आहार, उचित विहार र उचित विचार । यति गर्न सके शारीरिक एवं मानसिक स्वास्थ्य राम्रो रहने र सुखी जीवन बाँच्न सकिने ठोकुवा गर्न सकिन्छ ।

वर्तमानमा मानिसहरू स्वास्थ्यप्रति निकै सचेत भएका छन् । कस्तो खानपान गर्दा शरीर निरोगी हुन्छ भनेर खोजी गर्न थालेका छन् । आफ्नो नियमित भोजनममा पोषिलो एवं सन्तुलित खानपान मिलाउने प्रयास गर्न थालेका छन् । विभिन्न व्यायाम, योग, ध्यान आदि गर्न थालेका छन् । यी सबै गर्नुको अभीष्ट रोगमुक्त एवं सुखी जीवन बाँच्ने नै हो । यति गर्दागर्दै पन िबेलाबेलामा ताल खुस्कन्छ, व्यथाले गाँज्छ । किन त ? कतै न कतै जीवनशैलीमा खोट छ ।

उसो भए गर्ने के त ? खासमा समग्र शरीरलाई शुद्धिकरण गर्नुपर्छ । खानपानको माध्यमबाट, शारीरिक व्यायामको माध्यमबाट अनि विचार र चिन्तनको माध्यमबाट । यति तीन कुरामा ध्यान राख्न सके, अनुशासित हुन सके सोचेको कुरा पूरा हुनसक्छ ।

उचित आहार

उचित आहार अर्थात सन्तुलित खानपान । शरीरका लागि खानपान रोज्दा जिब्राको पछि कुद्नु हुँदैन । जिब्रोलाई विवेकले नियन्त्रण गर्नुपर्छ र शरीरलाई आवश्यक पोषक तत्वयुक्त सन्तुलित र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ । खानाकै कारण शरीर निरोगी र जवान हुन्छ भने खानाकै कारण रोगको भण्डार पनि बन्छ । त्यस हिसाबले हेर्दा उचित आहार सबैभन्दा ठूलो औषधी हो । क्षणिक आनन्द नहेरी दीर्घकालीन आनन्द खोज्ने मानिसले शरीर, मन एवं आत्मालाई कुनै कष्ट नपुग्ने भोजन गर्नुपर्छ, जुन मानवका लागि उचित आहार हो ।

खाना कस्तो खाने भन्ने कुराका विषयमा पाकशास्त्र नै छ । पुर्खाहरूको परम्परागत ज्ञान पनि सर्दै आएको छ । तसर्थ आफू बसेको वातावरण, भूगोल एवं समाजअनुसारको स्थानीय उत्पादन रोज्न सकिन्छ जुन शरीरका लागि उपयोगी हुन्छ ।

खानपानको दैनिक तालिका पनि निर्धारित छ । बिहान उठ्नेबित्तिकै हलुका, त्यसपछि खँदिलो र पर्याप्त, त्यसपछि क्रमशः खानाको मात्रा घटाउँदै जानुपर्छ भनिएको छ । भनाइ नै छ, बिहानको खाना राजाले जस्तो र बेलुकाको खाना रंकको जस्तो हुनुपर्छ ।

खाना खानेबित्तिकै सुत्नुहुँदैन । सुत्नुभन्दा तीन घण्टाअघि नै भोजन गर्नु उत्तम हुन्छ, नसके पनि खाना खाएको एक घन्टासम्म त भुलेर पनि सुत्नु हुँदैन ।

यसरी उचित आहार गरियो भने शरीर निरोगी रहन्छ । शरीरभित्र अनावश्यक विकार जम्न पाउँदैन ।

उचित विहार

विहार अर्थात दिनचर्या । यसभित्र उठ्ने, बस्ने, खाने, खेल्ने, काम गर्ने, विश्राम गर्नेजस्ता कुरा पर्दछन् ।

कतिबेला उठ्ने, कतिबेला सुत्ने, कतिबेला खाने, कतिबेला विश्राम गर्ने भनेर प्रकृतिले पनि तय गरिदिएको छ । प्रकृतिको लय बुझेर सोहीअनुसार चल्नसके जीवन सुखी हुन्छ ।

बिहान ब्रह्ममुहूर्तमा अथवा सूर्योदयअघि उठ्ने, योग, ध्यान, व्यायाम गर्ने, सही समयमा खानपान गर्ने, उचित शारीरिक श्रम गर्ने, सही समयमा विश्राम गर्ने बानी बसाल्नुपर्छ । यस किसिमको सन्तुलित, अनुशासित जीवनशैली अँगाल्दा जीवन सुखी र खुसी हुन्छ ।

उचित विचार

खानपान र दिनचर्या मात्र अनुशासित भएर पुग्दैन । यसले शरीर त ठीक रहला तर शरीरलाई सञ्चालन गर्ने मन के हुन्छ भन्न सकिन्न । मनसँग शरीरलाई जता चाह्यो उतै लैजानसक्ने सामथ्र्य छ तसर्थ मन पनि शुद्ध हुनुपर्छ । मन प्रफुल्ल, शान्त र सकारात्मक हुनुपर्छ । यसका लागि खराब विचार त्याग्नुपर्छ । दम्भ, लोभ, कामवासना, अहंकारजस्ता विकार त्याग्नुपर्छ । करुणा, प्रेम, श्रद्धा, कृतज्ञताजस्ता भाव जगाउनुपर्छ ।

सकारात्मक सोच र चिन्तनले मानिसलाई मानसिक रूपमा स्वस्थ बनाउँछ । यसरी शरीर मन दुवै स्वस्थ राख्न सक्ने मानिसले निरोगी जीवन बिताउनसक्छ । यति गरेपछि मात्र उसम स्वामी सच्चिदानन्द विशुद्धदेवले भनेजस्तो मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी तथा काँधमा जिम्मेदारी वहन गर्ने क्षमता उदय हुन्छ ।