महोत्तरी क्षेत्र नम्बर १ को चुनावी समीकरण रोचक बन्दै

महोत्तरी क्षेत्र नम्बर १ को चुनावी समीकरण रोचक बन्दै


महोत्तरीको क्षेत्र नम्बर १ मा चुनावी समीकरण निक्कै पेचिलो बन्दै गएको छ । सबै दलहरूले लोकप्रिय युवालाई चुनावी मैदानमा अगाडि सारेपछि निर्वाचनको माहौल निक्कै उल्लासमय बनेको हो ।

दलहरूले सामाजिकरुपमा ख्याति कमाएका युवा उम्मेदवारलाई सिफारिस गरेपछि चिया पसल र चौतारीमा सर्वसाधारणका आफ्नै आंकलन बनेका छन् । नेकपा एमालेले यस क्षेत्रबाट प्रतिनिधिसभाको लागि कुमार भण्डारी, देवेन्द्र गौतम र सङ्कर महतोलाई अगाडी सारेको छ भने माओवादी केन्द्रले गिरिराजमणि पोखरेल, राजु खडका, भरत साह, प्रकाशहरि पोखरेललाई अगाडि सारेको छ ।

त्यस्तै जसपाले लक्ष्मी महतो, नेपाली कांग्रेसले कल्याण गुरुङ, सिताराम भण्डारीलाई अगाडि सारेको छ ।

तर, चर्चा भने प्रदेशसभाको लागि  सिफारिस बनेका केदार बहादुर बस्नेत, चन्द्र बहादुर क्यापछाकी, शारदादेवी थापा, माओवादी केन्द्रका राजन ढुङ्गानालगायतका नेताको नै छ ।

गठबन्धनमा भागबन्डा मिलेमा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले प्रतिनिधिसभाको र कांग्रेस या जसपाले प्रदेशसभाको टिकट पाउनेछन् । तर, गठबन्धन इतरका युवा नेताहरूको चर्चाले निर्वाचनको समीकरण आकलन गरेभन्दा फरक हुने जानकार बताउँछन् । माओवादी केन्द्रको प्रदेशसभामा तुलसी ढुङ्गाना, राजन ढुङ्गाना, अनिल बस्नेत, विदुर कार्की, चूडामणि पोखरेल, रामजतन महतोको नाम छ । तर, नेता ढुङ्गाना नै सिफारिसमा परेका नेतामध्ये आकर्षक बनेका छन् ।

यता प्रतिनिधिसभा लागि पनि सिफारिसमा परेका नामहरूमध्ये युवा नेता तथा नेकपा एमालेका कुमार भण्डारीको चर्चा छ । युवा उद्यमीसमेत भएको हुनाले कुमार भण्डारी नाम युवा र सामाजिकरुपमा परिचित छ ।

सामाजिक कार्यमा समेत निक्कै सक्रिय बन्ने भण्डारीको हातमा टिकट आए धेरैले जित्न सक्ने आकलन गरेका छन् । गठबन्धन दल र दलहरूको आन्तरिक कलहले भण्डारीले त्यसको फाइँदा लिन सक्ने राजनीतिक विश्लेषकहरूको ठहर छ । 

भण्डारी बाहेक भर्खरै माओवादी केन्द्रबाट एमाले भित्रिएका नेता शंकर महतोको टिकट पाउने चर्चा चलेता पनि एमालेबाट नै असहयोग हुने स्थिति देखिन्छ । लामो समयदेखि महतो जत्तिकै युवाले दाबी गरेको हुनाले टिकट संस्थापन पक्षलाई दिने कि भर्खरै एमाले भित्रिएका नेतालाई प्राथमिकता दिने भन्ने विषय पेचिलो बन्दै गएको हो ।

यता प्रदेशसभामा राजन ढुंङ्गाना, केदार बहादुर बस्नेत, चन्द्र बहादुर क्यापछाकी,  शारदादेवी थापा, चिरिन्जिवी हमाल, विनोद बरालको पनि उत्तिकै चर्चा छ ।

Skip This
Logo