दार्चुलामा बाढीको वितण्डाः किन दोहोरियो ७० सालको घटना ?

दार्चुलामा बाढीको वितण्डाः किन दोहोरियो ७० सालको घटना ?


शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण दार्चुलाको खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै ७ जना बेपत्ता भएका छन् । यो रिपोर्ट तयार पार्दासम्म ५ जनाको शव फेला परेको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्था गरिएको छ । उक्त जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।

त्यस्तै महाकाली नगरपालिका–३ लास्को खोलाले रोकेर राखेका सात वटा गाडी समेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुल समेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

७० सालको घटना फेरि दोहोरियो
२०७० सालको असार २ गते आएको भीषण बाढीले तहसनहस भएको दार्चुलाबासी अहिले पनि ठूलो पानी पर्नेबित्तिकै झस्किन्छन् । महाकालीको बाढीले अहिले जिल्ला सदरमुकामको भौगोलिक स्वरूप नै परिवर्तन गरिदिएको छ । बाढीले ठूलो रिङ्नताल र गल्फै क्षेत्रका बस्ती नै लोप भएका छन् । ९ वर्ष अघि एउटै लहरमा जोडिएको दार्चुला सदरमुकाम अहिले स्वरुप परिवर्तन भएर तीन टुक्रामा विभाजित छ । दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपदका कारण सधैँ खतरामा रहेको छ । विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भूकम्प, चट्याङ, बाढी पहिरो मुख्य रुपमा रहेका छन् । यसै अन्तर्गत अहिले बर्षातको समयमा महाकाली नदिबाट जोखिम बढ्दो अवस्थामा रहेको छ । ७० सालको बाढीले दार्चुला सदरमुकाम खलंगा बजारमा कटान गरेपछि त्यसक्षेत्रमा हाल पक्की तटबन्ध निर्माणाधिन तथा महाकाली नगरपालिका ५ बंगाबगड क्षेत्रको पारीपट्टी भारतको खोतीलामा गएको पहिरो बढ्दै गएमा महाकाली नदी थुनिने सम्भावना रहेको थियो । वि सं २०७० सालमा पूर्वसूचना बिना भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आएको थियो । त्यतिबेला दार्चुला सदरमुकामका सयौँ घर तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौंको क्षति हुन पुगेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदा मात्रै २३ करोड ७९ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बराबरको क्षति भएको थियो । बाढीमा परी दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ परिवार विस्थापित भएका थिए । तर पीडितहरूले भने तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपियाँ राहतबाहेक केही सुविधा नपाएको गुनासो गर्दै आएका छन् । बाढी पीडितले पुनर्स्थापनाको माग राख्दै बाढी पीडित सङ्घर्ष समिति गठन गरेर आवाज उठाए पनि हालसम्म सुनुवाई नभएको बताउँदै आएका छन् । तत्कालिन सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायीलाई सहुलियत रुपमा ऋण दिने, बाढी पीडितका छोराछोरीहरूलाई वैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलियत दिने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । 

महाकाली नदीमा बाढीपछि पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७०/०७१ बाट शुरु भएको नदी नियन्त्रण आयोजनाको काम अहिलेसम्म पूरा भएको छैन । २०७० सालको घटना दोहोरिन नदिन समयमै कूटनीतिक पहल गर्न स्थानीयले गरेको आग्रहलाई वेवास्ता गर्दा घटना फेरी दोहोरिएको छ । 

छैन पर्याप्त पूर्वतयारी
पर्याप्त पूर्व तयारी नहुँदा सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट करौडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नबालीको नोक्सानी हुँदै आएको छ । 

Logo