‘काँग्रेसका नेताहरुले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन’ -गृहमन्त्री खाँण

‘काँग्रेसका नेताहरुले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन’ -गृहमन्त्री खाँण


गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् । 

नेपाली काँग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाँणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रिय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन् । 

नेपाली काँग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र  दायित्व दुवै भएको स्पष्ट पारे । उनले आफू काँग्रेस केन्द्रिय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेको समेत बताए । 

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ । तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रिय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन । तपाईहरुलाई जे हो ? त्यही भनिदिनु पर्दछ ।’ उनले भने, ‘अहिले नेपाली काँग्रेसको भूमिका के हो ? नेपाली काँग्रेसको एउटा केन्द्रिय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आवद्ध छौं । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनियता हो । राजनीतिक धर्म र दायित्व हो ।’  
 
मन्त्री खाँणले नेपाली काँग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट संख्या बाँडफाँड गराउने काममा भने बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताए । 

Logo