माधव नेपालकाे दाबीः समानुपातिकमा २० लाख मत पाउँछौं

माधव नेपालकाे दाबीः समानुपातिकमा २० लाख मत पाउँछौं


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन्।

मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको चन्द्रौटामा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताएका हुन्। 

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे। उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए।

मुस्लिम इत्तेहाद संगठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई संगठन बलियो बनाउन उनले आग्रह गरे। पार्टीका सबै संगठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँगाउँमा संगठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए।

उनले गरिब र अत्याचारविरूद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताए।

यस्तै नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए। छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए। उनले मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्या‍उने प्रयास गरेको बताए। उनले मदरसालाई व्यवस्थित गराइ सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताए। 

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताए। उनले एकीकरणको समयदेखि हालसम्म मुस्लिम समुदायले देशको रक्षाका लागि गरेको प्रयास प्रशंसनीय रहेको जिकिर गरे।

Logo