छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

तीन दिने छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा सम्पन्न भएको छ ।

अमेरिकामा २९ वर्षअघि स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उक्त अन्तर्राष्ट्रिय सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै गत सोमबार सकिएको हो । सम्मेलनमा संस्थाको नाम तथा नेपालबाट सम्मेलनमा निम्त्याइएका साहित्यकारलाई बेलायत सरकारले भिसा नदिएको विषयसमेत बहसका केन्द्र बने ।

सम्मेलनमा नेपाल, भारत, अस्ट्रेलिया, जापान, अमेरिका, कोरिया आदि देशबाट ६७ जना तथा बेलायतमा बसोबास गर्ने दर्जनौं साहित्यकार उपस्थित थिए । बेलायतस्थित नेपाली राजदूत तथा साहित्यकार दुबसु क्षेत्री र प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको कार्यक्रममा सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा कविता वाचन, नेपाली साहित्यका विषयमा चर्चा, पुस्तक विमोचन तथा प्रदर्शनीजस्ता कार्यक्रम भएका थिए । बेलायतमा रहेर कलम चलाइरहेका दर्जनौं साहित्यकारको उपस्थिति थियो ।

कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा विद्यावारिधि गरेका बेलायती नागरिक माइकल हन्टले ०७२ सालको भूकम्पपछि नेपाली साहित्य लेखनले फरक धार समातेको बताए । उनले भूकम्पपछिको नेपाली साहित्य विषयमा कार्यपत्र समेत प्रस्तुत गरे ।

अर्का कार्यपत्र प्रस्तोता प्राध्यापक डा. खगेन्द्र लुइँटेलले डायोस्परिक साहित्यको रूपरेखा र मूलधारको साहित्यबीचको सीमारेखा प्रस्तुत गर्दै विदेशमा बसेर लेख्नेबित्तिकै त्यो लेखन डायस्परिक नहुने र डायस्परिक हुनका लागि त्यसले डायोस्परिक चरित्र बोकेको हुनपर्ने बताए ।

कार्यक्रममा नेपालका प्रारम्भिक २० आख्यानकार र उनीहरूका चर्चित कथाहरूको अङ्ग्रेजी अनुवाद गरिएको कृति ‘टाइमलेस स्टोरीज फ्रम नेपाल’ विमोचन गरिएको थियो । त्यसैगरी सुमलकुमार गुरुङको ‘यात्रा स्पर्शका अनुभूति, लालगोपाल सुवेदीको ‘रोटीको दन्त्य कथा’ मोहन सिटौलाको ‘जीवन बाँसुरी, रामप्रसाद घिमिरेको ‘खप्परेका कथाहरू’ र शशी थापा सुब्बाको ‘साँझकी शशी’ पनि विमोचन गरिएका थिए ।

केके निर्णय गर्यो त सम्मेलनले ?

सम्मेलनले नेपाली साहित्यकारका चर्चित कृतिलाई संसारका धेरै जनसंख्याले बोल्ने भाषामा अनुवाद गर्ने कामलाई तीव्रता दिने निर्णय गरेको छ ।

सम्मेलनले डायस्पोरिक साहित्यको इतिहास तयार गर्न विज्ञ टोली गठन गर्ने, विदेशमा रहेका नेपालीभाषी परिवारका सन्तानहरुले नेपाली भाषामा पनि पठनपाठन गर्न तयार भएका पाठ्यसामग्रीहरुलाई सामयिक बनाउने एवं त्यस्ता बालबालिकालाई नेपाली भाषामा चासो जगाउन प्रविधिमैत्री बनाउने निर्यण गरेको छ ।

त्यस्तै संसारभर छरिएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्यहरुको सदस्यतालाई अद्यावधिक गर्ने र नेपालका विश्वविद्यालय एवं संघसंस्थाहरूसँग सम्पर्क गरी साहित्य अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ नेपालीभाषीहरूको बसोबास रहेका सबैजसो देशमा फैलिएको बताइन्छ । यस संस्थामा साहित्य लेखन तथा साहित्यिक सेवामा संलग्न एक हजारभन्दा बढी आजीवन सदस्य रहेको दाबी गरिएको छ । संस्थाले वार्षिक १० लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार तथा सम्मानसमेत वितरण गर्दै आएको छ ।