‘युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ’ -मन्त्री गहतराज

‘युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ’ -मन्त्री गहतराज


युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गहतराजले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्ने बताए । उनले देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने बताए ।

मन्त्री गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा विभाजन गर्न आवश्यक रहेको पनि बताए । उनले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले अहिले राज्यकै नीतिमा पनि अन्तरबिरोध भइरहेको बताउँदै यसलाई समयानुकुल परिमार्जन गर्न आवश्यक भएको बताए । 

‘एउटा मन्त्रालय देशभित्रै स्वरोजगार हुनुपर्छ भन्छ, अर्को मन्त्रालय रेमिट्यान्स ल्याउन बाहिर जानुपर्छ भनेर मेनपावर गुहार्दै हिँड्छ । हामीलाई रेमिट्यान्स चाहिन्छ, दक्ष जनशक्ति बाहिर श्रमको लागि पठाउनु पर्छ । अब युवाहरुलाई रोजगार सिर्जना गर्ने, देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्छ । जसले यी मुद्दालाई अघि बढाएर जान्छ, तिनै पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्छ ।’ उनले भने । 
 
मन्त्री गहतराजले प्राकृतिक श्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले एकद्वार प्रणालीबाट युवाहरुलाई तालिम दिने हो भने करिव ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्नसक्ने आधार सरकारसँग रहेको बताए । 

Logo