वडाध्यक्षसहित ८ जना पक्राउ

बाराको परवानीपुर गाउँपालिका–५ का वडाअध्यक्ष रामेश्वर शाह कलबारसहित ७ जना पक्राउ परेका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्न लागेको कार्यक्रम बिथोलेपछि वडाअध्यक्ष कलबारसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

परवानीपुर ५ मा नवनिर्मित २ कोठाको धर्मशालामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमामा उजुरी परेको थियो । उनीहरु भवन निर्माणमा भएको अनियमितता अख्तियारले छानबिन गरिरहेकोले मन्त्री सोनललाई उद्घाटन गर्न नदिने पक्षमा थिए ।

एक हल र धर्मशालाको दुई कोठे पक्की भवन बनाउन गाउँपालिकाले ६२ लाख रुपैयाँ खर्चेको थियो । कमसल निर्माण सामग्री प्रयोग गरिएको, अस्वाभाविक रुपमा लागत देखाइएको उजुरी परेपछि अख्तियारले छानबिन जारी राखेको छ ।