एनआईसी एशिया बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा

एनआईसी एशिया बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा


एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचानसम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । 

बैंकको वेबसाइटमार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाईसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंकका कर्मचारीसँग भिडियो कल गरि उक्त कलमार्फत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

यदि भी केवाईसीमार्फत आफ्नो केवाइसी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कलमार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भी केवाइसीको भिडियो कलको लागि एपोइन्टमेन्ट बुक गरि सो समयमा केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने छ । 

ग्राहकहरुले भी केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियोमार्फत  देखाउनुपर्ने बैंकले जनाएको छ । 

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

Skip This
Logo