सोमपालद्वारा अफ्रिदी क्याच आउट, टिम फाइनल प्रवेश

नेपाली बलर सोमपाल कामीले शाहिद अफ्रिदीलाई आउट गरेका छन् ।

१२औं खेलाडीका रुपमा मैदान प्रवेश गरेका सोमपालले पौल भ्यान मेकेरिनको बलमा १८ दशमलब पाँच ओभरमा अफ्रिदीको क्याच लिएका हुन् ।

उनको टिम टिम विनिपेग हक्स क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ब्रम्टन उल्भ्सलाई सात विकेटले हराउँदै उनको टिम हक्स उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको उभ्सले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको थियो । उसका लागि कप्तान डारेन सामीले ३३ रन बनाउँदा साहिद अफ्रिदी र बाबर हायातले समान ३२–३२ रन बनाए । यस्तै वाहब रियाजले २३ रनको योगदान गरे ।  बलिङमा हक्सका रियाद इम्रितले तीन तथा कलीम सानाले दुई विकेट लिए ।

जवाफमा हक्सले २० ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो। उसका जितमा सैमन अनवरले ५२ तथा जेपी डुमीनीले ५० रन बनाए । यस्तै सन्नी सोहेलले ४१ रन बनाउँदा क्रिस लियोनले ३५ रनको योगदान गरे । अब उसले उपाधिका लागि भोली भ्यानकुभर नाइट्ससँग खेल्ने भएको छ ।