नबिल बैंकले एकैदिन गर्‍यो ८ नयाँ शाखाहरुको उद्घाटन

नबिल बैंकले एकैदिन गर्‍यो ८ नयाँ शाखाहरुको उद्घाटन


नबिल बैंकले एकैदिन ८ ठाउँमा आफ्ना नयाँ शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।

उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रुपमा मुलपानी शाखा तथा काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दिक्षितले संयुक्त रुपमा भगवान पाउ (डल्लु) शाखा उद्घाटन गरेका थिए ।

त्यस्तैगरी उपत्यका बाहिरका शाखाहरुमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितीमा मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखा र इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए ।

विभिन्न क्षेत्रका प्रमुख अतिथीहरुले कार्यक्रममा बोल्दै नबिल बैंकको शाखा विस्तार सँगै स्थानीय जनताहरुले बैंकका विभिन्न सेवा सुविधाहरु बिना झन्झट पाउने वातावरण बनाउन अनुरोधका साथै स्वागत गरेका थिए । सो क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले यी शाखाहरू मार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गरेका थिए ।

उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ । 

Logo