गीतामा भनिएको छ– निष्काम कर्म गर

धार्मिक मान्यता छ कि हरेक मानिसले जीवनमा केही समय निष्काम भएर रहनुपर्छ, तर मानिसहरू यसको गलत अर्थ निकाल्छन् ।
आध्यात्मिक जीवनमा एक शब्द प्रायः सुनिन्छ– निष्काम । मानिसैपिच्छे यो शब्दको फरक– फरक अर्थ निकाल्छन् । केही अर्थ त निकै हास्यास्पद समेत हुन्छन्, जसले भन्दछन्– निष्कामता अर्थात् कर्मबाट हट्नु । कर्म नगर्नु ।

जीवनको वास्तविकता यो छ कि हामी कर्म नगरी रहनै सक्दैनौँ । कर्मबिना त कुनै पनि पशुपक्षी समेत रहन सक्दैनन् । केवल मानिसमा मात्रै यो सम्भावना छ कि ऊ आफ्नो कर्मलाई आफ्नो हिसाबले परिभासित गर्नसक्छ ।

हामी अधिकांश कर्म आफ्नो हित एवं स्वार्थका लागि गर्छौं । यिनको फल पनि सोही अनुसार नै हुन्छ अर्थात् त्यति नै हुन्छ । यस प्रकारको कर्मलाई सकाम कर्म भनिन्छ । यसमा कामना लुकेको हुन्छ तसर्थ स्वार्थप्रेरित वा कामनासहितको कर्मलाई सकाम कर्म भनिएको हो ।
यहीँबाट निष्काम कर्मको परिभाषा सुरु हुन्छ । निष्काम कर्म त्यसैलाई भनिन्छ जसमा हाम्रो कुनै निजी हित, निजी स्वार्थ वा कामना जोडिएको हुँदैन । कहिलेकाहीँ जीवनमा हामीले यस्ता कर्म पनि गर्नुपर्छ, जुन कामसँग हाम्रो कामना जोडिएको हुँदैन अर्थात् त्यस्ता कर्मबाट हामीलाई कुनै फाइदा पुग्दैन । तर, वास्तवमै याद राख्नुपर्ने कुरा के छ भने पछिपरन्तुमा यिनै कर्मले फाइदा दिन्छन् ।

कर्ममा निष्कामताको भाव भयो भने हाम्रा संवेदनाहरू प्रबल हुन्छन् । हामी संवेदनशील बन्दछौँ । कहिले अन्जानलाई सहयोग, कहिले प्रकृतिको सेवा, कहिले परमात्माको ध्यानमा बस्नु, भगवान्को पूजा गर्नु तर ऊसँग केही पनि नमाग्नु, कुनै दीनहीनलाई मद्दत गर्नुजस्ता थुप्रै काम छन् जसबाट हामी आफूभित्र निष्कामताको भाव ल्याउन सुरुवात गर्नसक्छौँ ।

कहिलेकाहीँ यस्तो सोच्नुपर्छ कि हामी निमित्त मात्र हौँ, सारा काम कोही अरूले नै गराइरहेको छ । थोरै समय यस्तो निकालौँ, जुन बेला अपेक्षा रहित हुन सकौँ । जे भइरहेको छ त्यसलाई हुन देऔँ । कुनै हस्तक्षेप नगरी तटस्थ भावले नियालि मात्र रहौँ । आफूलाई केवल माध्यम सम्झौँ । कुनै पनि कर्ममा आफूलाई सामेल नगराऔँ वा त्यसमा लिप्त नहोऔँ अर्थात् त्यसमा आफ्नो स्वार्थ नहेरौँ, नाफघाटाको विचार मनमा नल्याऔँ ।

भागवत महापुराणमा एउटा कथा छ जड भरतको । उनबाट निष्कामता सिकौँ । उनी जुनसुकै कम परमात्माको इच्छा सम्झेर गर्दथे । बाँदरले मकै खाओस् परमात्माको इच्छा, चराले बाली सखाप पारोस् परमात्माको इच्छा, बाढी आओस् परमात्माको इच्छा । हरेक काम परमात्माकै इच्छानुसार भएको ठानेर त्यसमा कुनै पनि हस्तक्षेप गर्दैनथे । एकपटक त भिल्लहरूले उनलाई बलि चढाउनका लागि शृंगारपटार गरेर, खानपान गराएर घाँटीमा तरबार पनि हान्न ठीक परे । त्यति गर्दा पनि उनी निष्काम रहे, कत्ति विचलित भएनन् । ती सबै हुनुलाई परमात्माकै इच्छा ठाने । उनले मर्नु परेन, स्वयं परमात्मा बचाउन आए ।

हामीले पनि सदैव हुन नसकोस् तर कहिलेकाहीँ हाम्रो मनमा निष्कामताको भाव जगाउन सक्नुपर्छ । जब मनमा निष्कामताको भाव आउन थाल्छ तब जीवनका धेरै समस्याहरूको जवाफ स्वतः मिल्नथाल्छ । समाधान निस्कन थाल्छ । जीवनमा प्राण सञ्चार हुन थाल्छ अनि यथार्थमा हामी बाँच्न थाल्छौँ ।