रक्सी पिएर दुःख दिएको भन्दै फुलचोकी जंगलमा लगेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

रक्सी पिएर दुःख दिएको भन्दै फुलचोकी जंगलमा लगेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


रक्सी पिएर दुःख दिएको भन्दै एक महिलाको ललितपुरस्थित फुलचोकी जंगलमा पुर्‍याइ हत्या भएको खुलेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–३  स्थित फुलचोकी जंगलमा सोमबार मृत अवस्थामा भेटिएकी महिलाको हत्या भएको खुलेको हो । उक्त शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या गरेको आरोपमा प्रहरीले उनका पति घ्याल्मो लामालाई पक्राउ गरेको छ ।

ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले पत्रकार सम्मेलन गरेर रुपालाई उनकै पति घ्याल्मो लामाले हत्या गरेर जंगलमा फालेको जानकारी दिए । ६३ वर्षीय घ्याल्मो दोलखाको भिमेश्वर नगरपालिका–९ का स्थानीय हुन् । काठमाडौँ उपत्यकामा घर बनाउने कामदारलाई संयोजन गरेर साना ठेक्का लिएर जीविकोपार्जन गर्दै आएका घ्याल्मोले पत्नीलाई योजनाबद्ध हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लगातारको घर झगडाले हत्याको रूप लिएको देखिएको एसएसपी पोखरेलले बताए । 

घ्याल्मोकी तेस्री पत्नी हुन्, रुपा क्षेत्री । रुपाले दैनिक मदिरा सेवन गरेर झगडा गरेर हैरानी दिएको हुनाले हत्या गरेको आरोपीले प्रहरीलाई बताएका छन् । भदौ १६ मा मदिरा सेवन गरेकी पत्नीले झगडा गर्न थालेपछि उनले फकाएर गोदावरीतिर लगे । गोदावरीमा बुद्ध धर्म मान्नेहरूले बाँसमा टाँगेको धजाको डोरी चुँडालेर पत्नीसँगै हिँडिरहे । गोदावरी चोकबाट करिब ४ किलोमिटर पर जंगलमा पुगेपछि घाँटीमा डोरीले कसेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । 

रुपासँग घ्याल्मोले २०७२ सालमा विवाह गरेका हुन् । रुपातिरका बच्चा छैनन् ।  हरिसिद्धिमा जेठीतिरका छोरीहरू बस्ने डेरा नजिकै बस्दै आएका घ्याल्मो हत्यापछि फर्किएर छोरीहरूले आमाबारे सोध्दा  उनले झगडा गरेर सोलुखुम्बु जान्छु भनेर गएको र ३ वर्ष आउँदिन नआउने बताएका थिए । स्थानीयले जंगलमा शव देखेर प्रहरीलाई खबर गरेपछि १० दिनअघि हत्याको घटनाको रहस्य खुलेको हो । 

Logo