श्रीकृष्णलाई सम्झँदै स्वेताले लेखिन् मर्मस्पर्शी स्टाटस

काठमाडौं । नायिका स्वेता खड्काले श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै भावुक स्टाटस लेखेकी छन् । हाल बेल्जियममा रहेकी स्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै आफ्नो फेसबुक वालमा मर्मस्पर्शी स्टाटस लेखेकी हुन्।

उनले लेखेकी छिन, ‘मैले के गुमाएँ र के पाएँ त्यसको हिसाबकिताब गर्ने हो भने यो उमेरसम्म आइपुग्दा जति पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको छु। सबैभन्दा सर्वश्रेष्ठ कुरा, मैले मेरो आत्मीय व्यक्ति गुमाएको छु जसको भर्पाइ कुनै धन सम्पत्ति वा सफलताले गर्न सक्नेछैन।’

उनले श्रीकृष्णलाई गुमाएको दिन बिर्सन चाहेको बताएकी छन् । ‘मेरा प्रेमी, पति, मित्र र अभिभावक जसलाई मैले भौतिक रुपमा सदासदाका लागि गुमाएको मेरो जिन्दगीको सबैभन्दा कालो दिन। त्यो दिनलाई सम्झाइदिने अनि खाटो बस्न लागेको घाउमा नुनचुक छरीदिने प्रयासहरु भइरहन्छन् । त्यसैले त्यो दिन सम्झनभन्दा बिर्सन चाहन्छु।’

उनका पति श्रीकृष्णको पाँचौ पुण्य तिथि साउन २९ गते परेको छ । पुण्य तिथिको पुर्वसन्ध्यामा उनले यस्तो मर्मस्पर्शी स्टाटस लेखेकी हुन् ।

उनले श्रीकृष्णलाई बिर्सन नसकेको र सदासदा मस्तिष्कमा रहिरने भनेकी छिन्। ‘माया र सम्झनाको तौल हुँदैन, आकार हुँदैन अनी सीमा पनि हुँदैन। मेरा स्वर्गीय पतीप्रतिको मेरो प्रेम बुझ्नलाई कोमल हृदय चाहिन्छ। मायाको अर्थ बुझ्नेहरुले मात्र मेरो भावनालाई बुझ्न सक्छन्। अतः मेरो मुटुमा बाँचिरहेका, मेरो ओंठमा हाँसिरहेका, मेरो हरेक पाइलामा छाया बनेर मसँगै हिंडिरहेका अनी मेरा हरेक सफलतामा रमाइरहेका मेरो जीवनसाथी अझै पनि मेरो मन र मस्तिस्कमा जिवितै छन् र सदासदा जीवित रहनेछन्।’

उनले केही मिडियाहरुले आफू र आफ्ना स्वर्गीय पतीबीचको प्रेमलाई ‘जोक’ बनाएको आरोप लगाएकी छन् । उनले भनेकी छन्, ‘यतिखेर म मेरो स्वर्गिय पतीको सम्झनामा स्थापित श्वेताश्री फाउण्डेसन मार्फत बनिरहेको माझी बस्तिको लागि आर्थिक स्रोत जुटाउन बेल्जियम आईपुगेको छु तर मेरो अनुपास्थितिमा केही अनलाईन मिडिया मार्फत म र मेरो स्वर्गिय पती बिचको प्रेमलाई ‘जोक’ बनाउने प्रयास गरेको पाएँ कृपया यस्तो घिनलाग्दो खेल नखेलीदिनु हुन म हार्दिक अनुरोध गर्दछु।’

आफ्नो र स्वर्गिय पतिबीचको माया कुनै एउटा पत्रकारले गर्न नसक्ने उनको भनाई छ । ‘मैले मेरा स्वर्गिय पतिलाई गर्ने मायाको मापन कुनै एउटा पत्रकारको कलम ले कसरी गर्न सक्छ ? जो ब्यक्ती आफ्नो मुटुमा बसेको हुन्छ त्यो ब्यक्तिलाई भुल्न चाहेर पनि भुल्न सकिदैन । चोखो मायालाई न त भुल्न सकिन्छ न त त्याग्ननै ! मैले मेरा पतिबाट प्राप्तगरेको असिम मायालाई यो जनममा त पक्कै भुल्न सक्नेछैन किनकी हाम्रो माया अटुट छ, चोखो छ अनी निस्वार्थ छ ।’