न्यूरोडको व्यस्त बजारबाटै सांसद लुटिइन्, प्रहरीले थाल्यो सर्च अप्रेशन

काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश सभा सदस्य नै लुटिएकी छन् । सडकमा हिँडिरहेका बेला प्रदेश नं. ३ कि सांसद भावना सुवेदीको पर्स अज्ञात व्यक्तिले लुटेर भागेका हुन् ।

आइतबार दिउँसो तिन बजेतिर सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्ति झोलामा हात हानेर पर्स झिक्दै फरार भएका हुन् । पर्स लुटिएकोबारे प्रहरीमा उजुरी परेको छैन् । घटना सार्वजनिक भएलगत्तै महानगरीय प्रहरी बृत्त जनसेवाले लुटेराको खोजी सुरु गरेको छ । जनसेवा प्रहरी प्रमुख डिएसपी बासुदेव खतिवडाले घटना सार्वजनिक भएलगत्तै लुटेराको खोजी कार्य थालिएको बताए ।

‘अज्ञात व्यक्तिले पर्स खोसेर भाग्यो भन्ने सञ्चारमाध्यमबाटै थाहा पाएँ । त्यसपछि हामीले नै माननीय भावना सुवेदी ज्यूलाई फोन गरेर प्रहरीमा आएर उजुरी दिनु अनुरोध गरेका छौं । उहाँ केही समयमा आउनुहुन्छ । अहिले त्यो क्षेत्रमा प्रहरीले लुटेराको खोजी गरिरहेकाे छ’ डिएसपी खतिवडाले भने ।

पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र थियो । चितवन घर भएकी सुवेदी सत्तारुढ नेकपाको तर्फबाट समानुपातिकबाट सांसद बनेकी थिइन् । घटनाबारे कहाँ जानकारी गराउने भन्ने थाहा नहुँदा अहिलेसम्म प्रहरीमा उजुरी नगरिएको सांसद सुवेदीको भनाई छ ।