पृथ्वी नजिकैबाट गयो आकाशीय पिण्ड, हिरोसिमाको भन्दा ठूलो भयावह टर्‍यो

एजेन्सी । आईफल टावर भन्दा ठूलो क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएको छ । पृथ्वीमा हुनसक्ने ठूलो क्षति तत्कालका लागि रोकिएको छ ।

वैज्ञानिकहरुका अनुसार उक्त पिण्ड पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा ठूलो क्षति हुने थियो । वैज्ञानिकहरुले उक्त पिण्डको भिडियो फूटेज संकलन गर्न सफल भएका छन् ।

यो क्षुद्रग्रह शनिबारमात्र पृथ्वीबाट ७० हजार किलोमिटर दूरी परबाट आफ्नै कक्षबाट गएको हो । नासाका वैज्ञानिकहरुले यदी उक्त क्षुद्रग्रह पृथ्वीमा खसेको भए एउटा सिंगो सहर ध्वस्त हुने बताएका छन् । जुन तत्कालका लागि त्यस्तो भयावह टरेको छ ।

पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको हो । यो आकाशीय पिण्ड १० हजार ४ सय माइल प्रतिघन्टाको दरले घुमिरहेको थियो । सन् २००६ अगस्टमा यसको पहिचान भएसँगै पिण्डको नाम २००६ क्युक्यु २३ राखिएको थियो ।

वैज्ञानिकहरुले यो पिण्ड पृथ्वीमा ठोक्किएको भए आणविक बलले पार्ने प्रभाव भन्दा ५ सय गुणा बढी क्षति हुने बताएका छन् । यसअघि यस्तै ठूलो पिण्ड पृथ्वीमा ठोक्किँदा डाइनोसरको लोप भएको मानिन्छ ।