सरकारले आज किन दिएन् सार्वजनिक विदा ?

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इद उल जोहा अर्थात बकर इद । प्रदेश २ र प्रदेश ५ को सरकारले आ आफ्नो प्रदेशमा सार्वजनिक विदा दिएका छन् । तर केन्द्र सरकारले भने विदा दिएको छैन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आईतबार एक विज्ञप्ती जारी गर्दै आज सार्वजनिक विदा दिनुका साथै बकर इदको सुभकामना समेत दिएका थिए । त्यस्तै प्रदेश ५ को सरकारले पनि बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित थियो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने विदा दिने निर्णय नगरिएको जानकारी दिए । गत वर्ष भने संघीय सरकारले सार्वजनिक विदा दिएको थियो । यसअघि मुस्लिमहरुकै अर्को महत्त्वपूर्ण पर्व इद उल फित्रको दिन भने सरकारले सार्वजनिक विदा दिएको थियो ।

बकरिद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैं खाने धार्मिक मान्यता छ ।