अध्यक्ष प्रचण्ड र लीबीच भेटवार्ताः के-के भयो कुराकानी ?

अध्यक्ष प्रचण्ड र लीबीच भेटवार्ताः के-के भयो कुराकानी ?


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै प्रचण्डले विकास र समृद्धिका लागि रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरे । उनले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिए ।

नेपालमा दशैं, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह पनि गरे । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे ।

दुई पार्टीबीचको सम्वन्ध कूटनैतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको उनको भनाइ थियो । ‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सी जिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्,’ प्रचण्डले भने । उनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए । 

चिनियाँ पक्षको तर्फबाट अध्यक्ष लीले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरे। उनले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पहल गर्ने बताए ।

Logo